Comments Add Comment

सार्वजनिक गाडीमा अझै पनि कोचाकोच (भिडियोसहित)

७ फागुन, काठमाडौं । बिहीबार मध्यान्हमा बानेश्वरबाट पेप्सीकोला जान लागेकी प्रियंका ठटाललाई बसमा कोचिएर यात्रा गर्न मन थिएन । भीड देखेर दुईवटा बस छाडिसकेकी उनलाई तेस्रो बसले पनि निरास बनायो । उनी त्यसमै कोचिएर गइन् ।

भीडमा हिँड्दिनँ भनेर के गर्नु, खाली सिट भएको बस भेटे पो !

यस्तो समस्या अहिले सार्वजनिक सवारी चढ्ने अधिकांश यात्रुको नै हो । सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारी प्रयोग नै गर्न छाडेका छन् । तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु बाध्यता नै छ ।

कमलविनायक जान लागेका भवनाथ खड्काले पनि बसमा सिट भेट्नन् । उभिएर यात्रा गर्न पर्छ भनेर उनलाई पीर लागेको होइन, सकेसम्म भीडमा खाँदिनु नपरोस् भन्ने उनको ध्येय थियो । तर, साँझ पर्दै जाँदा झन बसहरु भरि–भरि आउन थालेपछि उनी पनि भीडभित्र घुसे ।

अहिले काठमाडौंका सार्वजनिक सवारी चढ्नेमध्ये आधाजसो त मास्क लगाएरै यात्रा गरिरहेका छन् । तर, सार्वजनिक बसमा अझै पनि सुरक्षित वातावरण तयार हुन सकेको छैन ।

व्यवसायीलाई घाटाको पीर

बुधबार सरकारले सार्वजनिक सवारीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको थियो । त्यसकै आधारमा यातायात व्यवस्था विभागले बिहबिार सूचना पनि जारी गर्दै यातायात कम्पनीलाई भन्यो, ‘सिटक्षमताभन्दा बढी यात्रु नचढाउनू ।’
यो पनि पढ्नुहोस काठमाडौं छाड्नेको लर्को, टिकटको मूल्य चर्को

तर, विभाग यसको अनुगमनका लागि सडकमा आएन । जसका कारण यात्रुले त डरमर्दो वातावरण्मा यात्रा गर्नु पर्‍यो नै, सरकारले संक्रमण फैलन नदिन अपनाएको भनिएको सावधानी कागजमै सीमित रहन पुग्यो ।

निर्णय गर्ने तर, कार्यान्वयनमा चासो नदिने पुरानो चलन यस्ता संवेदनशील विषयमा पनि दोहोरियो । यसका कारण सार्वजनिक सवारी धनी र चालकहरुले पुरानै शैलीमा सवारी चलाइरहेका छन् ।

सडकमा भेटेजति यात्रु चढाउने उनीहरुले यसकै कारण भविष्यमा संक्रमण्म फैलियो भने के गर्ने भन्ने जिम्मेवारी बोध गरेका छैन् ।

ठिमीको रुटमा बस चलाइरहेका राजेश महर्जन सिटमा मात्रै यात्रु बोक्न नाफा नै नहुने बताउँछन् ।

‘माइक्रोमा १५–१६ जना राख्दा भरिन्छ, बढी यात्रु बोक्न नदिने हो भने त गाडी चलाउन पर्दैन,’ उनी भन्छन्,‘हामीले पनि बैकको किस्ता तिर्नुपर्छ, घरपरिवार चलाउनुपर्छ ।’

अधिकांश सवारी धनीको भनाइ महर्जनको भन्दा फरक छैन । यात्रुको चाप घटेर यसै पनि पर्याप्त नाफा नभइरहेको अवस्थामा सरकारले गरेको निर्णय व्यवहारिक नभएको उनीहरुको भनाइ छ ।

बनेपा रुटको बसका सहचालक योगेश थिङ भीडमा नचढ्नुस् भन्दा पनि यात्रुहरु चढने गरेको दाबी गर्छन् । ‘मान्छे धेरै भएका बेला कसलाई चढ् भन्ने, कसलाई नचढ् भन्ने ?’ उनी भन्छन्, ‘सबैलाई छिटो पुग्नुपर्ने हतार हुन्छ, जति भिड भएपनि हामी चढ्छौं भन्दै चढपछि ओराल्न मिल्दैन ।’

भिडियो हेर्नुस् 

किन जरुरी छ सतर्कता ?

संक्रमण फैलाउने हिसावले सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । सार्वजनिक गाडीमा गुन्द्रुकुजसरी कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । भाइरस संक्रमणको हिसावले यसलाई ज्यादै खतरनाक अवस्था भन्छन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन ।

फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । जानकारी भएकाहरु पनि हेलचेक्र्याइँ गर्छन् । मास्क लगाएर यात्रा गर्नेहरु थोरै देखिन्छन् ।
कतिपय सार्वजनिक सवारी सञ्चालकहरुले यात्रुलाई ज्वरो आए, नआएको जाँच गर्न त थालेका छन्, तर बिरामीलाई गाडीमा निषेध गर्न सकिँदैन । यसले गर्दा सार्वजनिक यातायातलाई कोरोना सल्केर बिस्फोट हुने वारुदखाना जस्तो बनाइदिएको छ ।

स्वास र नाक–मुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा हुने डा. पुन बताउँछन् । ‘सार्वजनिक गाडीमा यात्रुहरुबीच प्रत्यक्ष सम्पर्क–सम्वाद हुन्छ नै’, उनी भन्छन्, ‘कोरोना भाइरसको यो समयमा सार्वजनिक यातायातको क्षेत्रमा अरु बेलाजस्तै भइरहेको हेल्चेक्रयाईंले ज्यादै खतरनाक सन्देश दिइरहेको छ ।’

वेलायतमा भएको एक अध्ययनले र्‍याल, सिँगान, थुकलगायतबाट सर्ने सरुवा रोगको लागि सार्वजनिक यातायातका साधनलाई ‘हटस्पट’ भनेको छ । सार्वजनिक सवारी प्रयोगकर्ताहरु अरुभन्दा ६ गुणा बढी सुरुवा रोगको जोखिममा हुने अध्ययनको निश्कर्ष छ ।

सार्वजनिक सवारीमा यात्रु–यात्रुबीचको दूरी निकै कम हुने हुँदा एक जना बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा धेरैजना प्रत्यक्ष प्रभावित हुन्छन् । एउटा यात्रु उठेको सिटमा तुरुन्तै अर्को बस्छ । सबै यात्रुले समाउने डण्डी, ढोकाको ह्यान्डल, रेलिङ, सिट बार उही हुन्छ । यो अवस्थामा कुनै एक संक्रमित यात्रुले समातेको डण्डी नै सहरभरि संक्रमण पुर्‍याउन काफी हुन्छ ।

यो पनि पढ्नुहोस ‘काठमाडौंमा सित्तै पिसाब फेर्न त पाइन्न, हात कहाँ धुने ?’

अनुसन्धानले लामो दूरीको तुलनामा छोटो–छोटो दूरीका सार्वजनिक गाडीका यात्रु बढी स्वास्थ्य जोखिममा हुने देखाएको छ । त्यसैगरी धेरै ट्रान्जिट प्रगोग गर्ने यात्रुलाई पनि संक्रमणको जोखिम बढी हुन्छ ।

त्यसैले सरकारले गरेको निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै सवारीभित्र सतर्कता बढाउनुपर्ने बताउँछन् डा. पुन ।

ट्राफिक भन्छ–अनुगमन सुरु भयो
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सरकारी निर्देशन पालना भए/नभएको अनुमगमन सुरु भइसकेको बताएको छ । महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता जीवन श्रेष्ठ अटेरी गर्ने सवारीहरुमाथि कारवाही थालिएको बताउँछन् ।

‘यात्रुलाई पनि भिड भएका सवारी नचढ्न आग्ह गरेका छौं, यो आफैं सचेत हुने समय पनि हो,’ उनले भने,‘सवारी चालक र सहचालकलाई मास्क लगाएर मात्रै सवारी चलाउन र यात्रुलाई पनि मास्क लगाएर यात्रा गर्न भनेका छौं ।’

उनले संक्रमण फैलने जोखिम भएको अवस्थामा पनि कोचाकोच गरेर यात्रु चढाउने सवारीहरु कारवाहीमा पर्न थालिसकेको बताए ।

‘हामी यो कारवाही अभियानलाई अझ कडा बनाएर निरन्तरता दिन्छौं,’ श्रेष्ठले भने,‘सवारी धोएर, स्यानिटाइजर प्रयोग गरेर मात्रै चलाउन पनि व्यवसायीलाई भनिसकेका छौं, सवारीको सरसफाइको पक्षको पनि निगरानी पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment