Comments Add Comment
व्यवसायमा कोरोनाको असर :

‘ग्राहक छैनन्, मोबाइल चलायो, बस्यो’ (भिडियोसहित)

Photo Credit : तस्वीर र भिडियोः शंकर गिरी/अनलाइनखबर

७ चैत, काठमाडौं । कोरोनाको असर यतिबेला नेपालको अर्थतन्त्रमा परिरहेको छ । बिहीबार काठमाडौंको न्युरोड, महावौद्धलगायतका क्षेत्रका गल्लीहरुमा सञ्चालनमा रहेका पसलहरुमा पनि मन्दीको असर देखियो ।

ठेलामठेल गर्दै हिँड्नुपर्ने गल्लीहरुमा सर्वसाधारणको हुल कम देखियो । व्यापारीहरु मोवाइल चलाउनमै व्यस्त भेटिए । अरुबेला भ्याई नभ्याई हुने भरियाहरु पनि काधमा नाम्लो बोकेर टोलाइरहेका भेटिए ।

अरु त अरु, काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा सञ्चालन गरेको स्मार्ट पार्किङमा पनि असर देखियो । अरुबेला पार्किङ गर्ने ठाउँ पाइँदैन थियो । बिहीबार भने पार्किङका लागि प्रसस्तै क्षेत्रहरु देखिए । पार्किङमा खटिएका कर्मचारीहरु पनि अहिले फुर्सदिला छन् ।

अधिकांश समय बाक्लो चहलपहलल हुने काठमाडौंको व्यापारिक क्षेत्र न्युरोड कोरोनाको त्रासले सुनसान हुन थालेको छ

उनीहरु पनि अहिले फुर्सदको उपयोग मोवाइल चलाएरै गरिरहेका छन् । मोवाइल चलाइरहेका कर्मचारीहरुलाई हामीले डिस्टर्ब गर्यौ । ‘धेरै फुर्सद मिले जस्तो छ नि’ एकजना बोलिहाले, ‘बाईकहरु आइरहने तथा निस्कीरहने भएकाले केहि साता अघिसम्म दिनभर फोन गर्ने फुर्सद पनि निकाल्न मुश्किल पर्थो, अहिले त आनन्द छ ।’

पार्किङमा खटिएका कर्मचारीहरुका अनुसार १५ दिन अघिको र आजको तुलना गर्ने हो त्यहाँ आउने सवारी साधनहरुको संख्या ५० प्रतिशतले घटेको छ ।

रञ्जना गल्ली क्षेत्रको पार्किङमा ९ जना कर्मचारी खटिएका छन् । उनीहरु केहि दिनअघिसम्म ७ हजार रुपैयाँसम्म दैनिक पार्किङ शुल्क उठाथे । तर अहिले ३ हजारदेखि ३ हजार ५सय रुपैयाँ मात्रै दैनिक संकलन हुने गरेको उनीहरु बताउछन् ।

व्यापारीहरुको अवस्था त झन विजोग नै छ । अधिकांश पसलेहरु मोवाइल चलाउनमै व्यस्त थिए । सबैको एउटै गुनासो छ, ‘कोरोनाको त्रास फैलिएसँगै व्यापार नै छैन, व्यापार नभए पछि के गरौं ?’

‘कोरोनाको असर देखिएको हो व्यापारमा ?’ भन्ने जिज्ञासामा व्यापारी सुनिता कार्की भन्छिन्, ‘दुई साता भइसक्यो व्यापार छैन, हिजोको भन्दा आज कम छ आजको भन्दा भोलिको कम हुनेहोला ।’ व्यापार नभएको देख्दा त कहिले काही उनलाई बन्द गरेर घरमै सुतौं जस्तो लाग्छ । तर, थोरै भए पनि भइहाल्छ कि भनेर पसल खोल्ने गरेको उनी सुनाउछिन् ।
न्युरोडकै जुत्ताचप्पलको होलसेल पसल सञ्चालन गरिरहेका जयराम न्यौपानेको गुनासो पनि उस्तै छ । ‘दिनभर बस्यो घर फर्कियो, अब त पसल नखोले पनि हुने भइसक्यो ।’ व्यापार नहुँदा घरभाडा कसरी तिरौं भन्ने समस्या परेको न्यौपाने सुनाउँछन् ।

८ वर्षदेखि न्यूरोडमा ब्यापार गर्दै आएका उनी यस अघि धेरै विजोग कहिले नदेखेको सुनाउछन् । ‘मेरो मात्रै होइन न्यूरोडका सबै पसलको हालत डामाडोल नै छ’ न्यौपाने भन्छन्, ‘यो कोरोनाकै असर हो, ग्राहक नै आउन छाडिसके ।’ पहिले आएका ग्राहकहरुलाई सामान दिन पनि पालो पर्खाउनु पर्ने गरेको स्मरण गर्दै अहिलेको सुनसानले साह्रै नमज्जा लागेको उनी सुनाउछन् ।

व्यवसाय बन्द गर्न महासंघको छलफल

सरकारले बुधबार स्कुल, विश्वविद्यालय, सिनेमा हल लगायतका क्षेत्रहरु बन्द गर्ने तथा अत्यावश्य बाहेक घरबाट बाहिर ननिस्कन समेत आग्रह गरेपछि व्यवसायीहरुमा झन तनाब थपिएको छ ।

काठमाडौंका सबै क्षेत्रका व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबार व्यवसाय नै बन्द गर्नु पर्ने हो कि भनेर छलफल समेत गर्‍यो । तर छलफलले निचोड भने निकाल्न बाँकी रहेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

त्यत्तिकै पनि व्यापार कम भएका बेला सरकारले अत्यावसेक बाहेक बाहिर ननिस्कनु भनेपछि झन चिन्ता थपिएको कटुवालले बताए । अब पसल बन्द गर्नै पर्ने बाध्यकारी अवस्था सिर्जना हुन लागेको उनले बताए । ‘अब पसल बन्द गर्नै पर्ने अवस्था सिर्जना हुन लागेको छ, हामी सरकारले दिएको निर्देशन पालना गर्न पनि तयार छौं’ अध्यक्ष कटुवाल भन्छन्, ‘तर हामी ठूलो समस्यामा फस्दैछौं, हाम्रो समस्या सरकारले बुझ्नु पर्छ ।’
व्यापार ठप्प भएपछि घरभाडा कहाँबाट ल्याएर तिर्नु भन्ने व्यवसायीहरुको मूख्य समस्या रहेको उनी बताउछन् । ‘भाइरसका कारणले अब व्यवसाय धराशासी भए घर भाडा तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुग्दैछौं’ अध्यक्ष कटुवालले भने ‘कोरोना प्रभावित उद्योग–व्यवसायहरुलाई घरभाडा तथा बैंकको ब्याजदरमा सहुलियत दिने काम सरकारले गर्नु पर्छ ।

उनले निजीक्षेत्रसँगको सहकार्यमा खाद्य पदार्थ र अत्याबस्यक बस्तुको आपूर्ति ब्यबस्थापन सहज बनाउन समेत सरकारसँग आग्रह गरे । महासंघकै वरिष्ठ उपाध्यक्ष नयनबहादुर पंडित क्षेत्रीले अधिकांश व्यवसाय बैंकको कर्जा लिएर सञ्चालन रहेको भन्दै कोरोनाका कारण अब बैंकको ब्याज बुझाउन पनि नसकिने अवस्था आउन लागेको बताए । यसका लागि सरकारले बेलैमा ध्यान दिनु पर्ने बताए ।
कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा पनि व्यवसाय धराशय बन्ने जोखिममा रहेको बताउछन् । अनरिनोको राजमार्ग तथा विपी राजमार्ग लगायतको प्रस्थान विन्दु भएका कारण केहि साता अघिसम्म कोटेश्व्रमा राम्रो व्यवसाय हुने गरेको भए पनि अहिले घटेर शून्यमा झर्ने हो कि भन्ने चिन्ता देखिएको उनले बताए । यहिँ अवस्था रहे सबै पसलहरु बन्द गर्नु पर्ने भन्दे उनले सरकारले यस विषयमा केहि सहयोग गर्नु पर्ने बताए ।

‘व्यवसाय त डुब्छ नै, अब हामीले आफै पनि बच्नु पर्ने छ’ थापाले भने, व्यवसायीले मात्रै सावधानी अपनाएर पनि हुँदैन, भोलि महामारी फैलिए अवस्था खतरनाक हुँन्छ, यसकारण बन्द गराएर भए पनि सुरक्षित भने हुनु पर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment