
७ चैत, काठमाडौं । भारतको मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राज्यपाल लालजी टण्डनलाई राजीनामा बुझाएका हुन् ।
भारतीय राष्ट्रिय कंग्रेस नेता उनले पार्टीभित्रको आन्तरिक किचलोका कारण मुख्यमन्त्री बनेको १५ महिनापछि पद छाड्न बाध्य भएका हुन ।
कमलनाथले राजीनामापछि भारतीय जनता पार्टी (भाजपा)ले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका छन् । ‘भाजपाले हाम्रा २२ जना विधायकहरूलाई बन्धक बनाएर राखेका छन्,’ उनले भने, ‘करोडौं रूपैयाँ खर्च गरेर प्रलोभन देखाउने काम भएको छ ।’
कमलनाथले अगाडि भने, ‘जनताले मलाई पाँच वर्षका लागि जनादेश दिएका थिए । यसअघि भाजपालाई पनि राज्यमा काम गर्न १५ वर्षको अवसर दिएको थियो ।’
सर्वोच्च अदालतले मुख्यमन्त्री कमलनाथलाई शुक्रबार साँझ पाँच बजेसम्म फ्लोर टेस्टमार्फत बहुमत प्रमाणित गर्न आदेश दिएको थियो ।
२३१ सदस्यीय मध्यप्रदेश विधान सभामा कांग्रेसको ११४ र भाजपाले १०७ स्थानमा जितेको थियो । त्यहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्दछ ।
भारतीय राष्ट्रिय कांग्रेसका मध्य प्रदेश महासचिव ज्योतिरादित्य सिंधिया भाजपा प्रवेश गरेपछि कमल नाथ सरकार धरापमा परेको हो । सिंधियासँगै केही सांसदले कांग्रेस छाडेका छन् ।
प्रतिक्रिया 4