Comments Add Comment

संकट बाजा बजाएर आउँछ ?

स्वःअनुशासन नै सबैभन्दा प्रभवकारी हुनसक्छ

नेपाली समाजमा प्रचलित उखान छ, ‘दशा बाजा बजाएर आउँदैन ।’ अर्थात संकटका क्षणहरु पूर्व संकेत गरेर आउँदैन । तर, भयानक महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)ले खतराको घण्टी बजाउँदै विश्व फन्को लगाइरहेको छ ।

उन्नत चिकित्सा पद्धती र संयन्त्र भएका विश्वका मुलुकलाई यो भाइरसले आच्छु–आच्छु पारिसकेको छ । भएभरका उपचार विधी र संयन्त्र प्रयोग गर्दापनि यसको आतंक न्युनिकरण गर्न सकिएको छैन । एक पुरिया जीवनजलको अभावमा जीवन गुमाउनुपर्ने बाध्यता रहेको हाम्रो मुलुकमा कोरोना भाइरस फैलिएमा के होला ?

सुन्दा अप्रिय लागेपनि हामीकहाँ चिकित्सा सेवा भरपर्दो, विश्वनिय र छरितो छैन । चिकित्सा पद्धती र संयन्त्र एकदम कमजोर छ । उपकरण, औषधि र जनशक्तिको अभाव उस्तै छ । जन–स्वास्थ्यको कुरामा राज्य पनि उति उदार एवं संवेदनशिल छैन । भलै, पछिल्लो अवस्थामा सरकारले कोरोना भाइरसको संभावित खतरा रोक्न ठोस कदम चालेपनि त्यो पर्याप्त र पूर्ण छैन ।

भीडभाड हुने व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नहुने कुरामा सर्तक गराएको छ । अस्पताल सेवा सर्तक र तयारी अवस्थामा राखेको छ । यसले शहरी क्षेत्रको भीड केही पातलिएको छ । धेरैले मास्कको प्रयोग गरेका छन् । तर, कोरोना भाइरसको जटिलता र प्रकृति जस्तो छ, त्यस अनुरुप यो तयारी एकदमै फिका र अपरिपक्क देखिन्छ ।

सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नहुने भनेपनि सार्वजनिक यातायात, चोक, गल्लीमा मान्छेहरुको चहलपहल उस्तै छ । को अत्यावश्यक कामले निस्किएका हुन्, को होइनन् भनेर निगरानी गर्ने कुरा पनि भएन । त्यसैले यसमा सरकाले आह्वान त गर्नसक्छ, पूर्णत निषेध गर्न सकेको छैन । ठिक यही मौकामा दैनिक उपभोग्य बस्तुको अभाव हुने डरले किनमेल गर्नेहरुको भिड पनि बढेको छ । यता बजारमा खाना पकाउने ग्यास लगायतको कालोबजारी सुरु भइसकेको छ । कतिपय शहरी क्षेत्रबाट गाउँघर फर्कदैछन्, जसले गाडीको टिकटमा पनि कालोबजारी सुरु भइसकेको छ । मुलुक संकटको घडीमा छटपटाइरहँदा यसलाई मौकाको रुपमा लिने दलालहरु सबैतिर सल्बलाइरहेका छन् ।

अर्कोतिर एउटा ठूलो जमात छ, जसले कोरोना भाइरसको संभावित खतरालाई उति गंभीरतापूर्वक लिएका छैनन् । उनीहरु शोसल मिडियाको प्रयोग गर्दै ‘कोरोना भाइरसले कुनै असर गर्दैन’ भन्ने खालका हावादारी गफ फैलाइरहेका छन् । मदिरा सेवन गर्दा समेत कोरोना भाइरसले केही गर्दैन भन्ने आशयको सामाग्रीहरु फैलाइदैछ ।

चिकित्सा सेवा, सुविधा, पद्धती र संयन्त्र कमजोर भएको मुलुकका हामी यति भयानक संकटको छाँयामा पनि जागरुक, सचेत वा सर्तक छैनौं । ‘अहिलेसम्म एक जनालाई पनि संक्रमण पुष्टि भएको छैन, कोही मरेकै छैन’ भन्ने जस्ता तर्क गरेर बसिरहेका छौं । कसैलाई संक्रमण देखियो, कसैको मृत्यु भयो भने बल्ल तयारी गरौंला भने झै गरी अटेर गरिरहेका छौं ।

भोलिका दिन जब संकटको भूँमरीमा फस्नेछौं, त्यसबेला हामीसँग पछुताउने मौका पनि हुनेछैन । न त्यसबेला राज्यलाई गाली गरेर केही हुनेवाला छ । न कसैलाई दोष देखाएर नै । राज्यले आफ्नो ठाउँबाट जे–जति गरिरहेको छ, त्यसमा हामीले एकढिक्का भएर साथ, सहयोग र समर्थन गर्नु नै अहिलेका लागि भलाई छ । र, त्यो भन्दा ठूलो भलाई के छ भने, स्व–अनुशान ।

अरुको मुख ताकेर वा अरुले के गर्छ भनेर पर्खनुभन्दा पनि हामी आफैले सर्तकता, सजगता अपनाउनुपर्ने बेला छ । व्यक्तिगत सरसफाईदेखि सामाजिक दुरीसम्मको कुरामा हामी अनुशासित हुन जरुरी छ । सार्वजनिक यातायात, सार्वजनिक स्थान, भेला–समारोह आदिमा कस्तो सावधानी अपनाउने भन्ने कुरा अरुको निर्देशनमा होइन, आफ्नै विवेकको आधारमा निर्णय लिनुपर्नेछ ।

संभव भएसम्म भिडभाडमा नजाने वा यात्रा नगर्ने, किनमेल नगर्ने, घुमफिर नगर्ने, भोज भत्तेर आयोजन नगर्ने, जमघट नगर्ने जस्ता कुरामा हामी आफै सचेत हुनुपर्छ । स्व–अनुशासन नै अहिले हाम्रो निम्ति सबैभन्दा राम्रो विकल्प हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment