Comments Add Comment

दुनियाँकै सबैभन्दा धनी अपराधी, जसको अर्बौँ रुपैयाँ वर्षेनी मुसाले खान्थ्यो

दुनियाँमा अपराधकर्मबाट धन सम्पत्ति कमाउने मानिसहरु धेरै छन् । तर केही अपराधीहरु चाहिँ अपराध कर्मबाटै यतिधेरै धन थुपारेका हुन्छन् कि उनीहरुले थुपारेको धन मुसालाई आहारा बनिदिन्छ ।

पाब्लो एस्कोबारको नाम दुनियाँकै सबैभन्दा धनी अपराधीको रुपमा इतिहासमा दर्ज छ । सन् १९९३ मा उनको मृत्यु भएको थियो । किंग अफ कोकिनको नामले पनि चिनिने एस्कोबार कोलम्बियाका लागू औषध कारोबारी थिए । कोलम्बियाका सबै नेता आफ्नो गोजीमा रहेको उनले दाबी गर्दथे । अर्थात् देशका सबै नेतालाई उनले आफ्नो धनले किनेका थिए ।

लागू औषध अपराधबाट एस्कोबारले यतिधेरै धन कमाए कि सन् १९८९ मा उनी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा सातौँ नम्बरमा परेका थिए । फोर्ब्स पत्रिकाका अनुसार त्यतिबेला एस्कोबारको सम्पत्ति २५ अर्ब अमेरिकी डलर थियो । जुन आजको मूल्यमा १८ खर्ब ७५ अर्ब हुन्छ । उनीसँग असंख्य लक्जरी गाडीहरु तथा सयौँ घरहरु थिए भनिन्छ ।

पाब्लो एस्कोबारका विषयमा एउटा निकै रोचक प्रसँग छ । सन् १९८६ मा उनले कोलम्बियाको राजनीतिमा प्रवेश गर्ने कोसिस गरे । त्यसका लागि उनले तत्कालीन अवस्थामा कोलम्बियाको १० अर्ब राष्ट्रिय ऋण तिरिदिने प्रस्ताव राखेका थिए ।

उनको बारेमा एक अर्को रोचक कथा पनि छ । एकचोटी उनले कहीँ यात्रा गर्दै थिए । बाटोमा जाडो भयो । त्यसपछि उनले आगो ताप्नका लागि गाडीमा रहेका २० लाख डलर बराबरका नोटका गड्डी झिके । अनि त्यहीँ नोटमा आगो सल्काएर आगो तापे ।

पाब्लो एस्कोबारलाई अहिलेसम्मकै कुख्यात तथा चलाख कोकिन कारोबारी मानिन्छ । साथै उनलाई विश्व इतिहासका सबैभन्दा धनी तथा सफल अपराधी पनि मानिन्छ ।

यहाँसम्म कि तत्कालीन अवस्थामा अमेरिका सरकार पनि उनीबाट समस्यामा परेको थियो । किनकी उनले पूरै अमेरिकामा आफ्नो कोकिनको कारोबार फैलाएका थिए ।

पाब्लोका भाई रोबर्टो एस्कोबारका अनुसार आफुसँग भएको नगदको गड्डी बाँध्नका लागि मात्र उनले हरेक हप्ता १ हजार डलर बराबरको रबर व्याण्ड खरिद गर्ने गर्दथे । उनले धनका गड्डीलाई आफ्नो गोदाममा राख्दथे । गोदाममा मुसाको बिगबिगी थियो । जसका कारण प्रतिवर्ष करिब १ अर्ब डलर बराबरका नगद नोट त मुसाले नै टुक्राटुक्रा पारिदिन्थ्यो ।

कोलम्बियाका सरकारी कर्मचारीप्रति उनको एउटा मात्र सिद्धान्त थियोः या त घुस लेउ, या त गोली खाउ । उनले आफूले भनेको नमान्ने कैयन् कर्मचारीको हत्या गरे । उनकै कारण तत्कालीन अवस्थामा कोलम्बियामा धेरै हत्याकाण्डहरु भए र कोलम्बिया विश्वको हत्याको राजधानीको रुपमा चित्रित भयो ।

सन् १९८५ मा कोलम्बियाको सर्वोच्च अदालतमा भएको गोलीकाण्ड उनकै नेतृत्वमा भएको थियो । जसमा अदालतमा कार्यरत आधाजसो न्यायाधीशको हत्या भएकेा थियो ।

सरकारका लागि हत्यारा तथा अपराधी भए पनि कोलम्बियाको मेडेलिन सहरका आम जनताको नजरमा भने उनी रोबिन हुडको भूमिकामा थिए । उनले सहरबासी गरीबहरुलाई पैसा बाँड्दथे भने धेरैका लागि घर बनाइदिएका थिए । उनी गरीबको नजरमा नायक भन्दा कम थिएनन् ।

अन्ततः सन् १९९३ डिसेम्बर २ मा गोली लागेर उनको मृत्यु भयो । उनलाई गोली कसले हान्यो भन्ने विषय पनि यकिन हुन सकेन । कतिपयले उनले आत्महत्या गरेको दाबी गरे भने कतिपयले पुलिसले गोली हानेर मारेको बताए ।

दुनियाँका सबैभन्दा धनी तथा सफल अपराधी पाब्लोको बारेमा धेरै किताब लेखिएका छन् र फिल्म समेत बनेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment