
९ चैत, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए । ‘सामानहरु आउँछन् तर यात्रुहरु आउन–जान पाउँदैनन्,’ उनले भने ।
प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए ।
भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए ।
यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।
भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् ।
सरकारले कोरोना भाइरसको रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडानलाई रोके पनि भारतसँग जोडिएका सीमानाका बन्द गरेको छैन ।
प्रतिक्रिया 4