Comments Add Comment

प्रदेश २ का अधिकांश सीमानाका बन्द

९ चैत, जनकपुरधाम । कोरोना संक्रमण फैलिन नदिन प्रदेश २ का सीमानाकाहरु बन्द गरिएको छ । केहीलाई मात्र खुल्ला राख्दै अधिकांश सीमा नाकाहरु आइतबार बिहानैदेखि बन्द गरिएको हो ।

सप्तरीका कुल आठमध्ये ७ वटा सीमानाका बन्द गरिएको छ । कुनौली भन्सारबाहेकका सबै सीमानाका आइतबारदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

सिरहामा दुईबाहेक सबै सीमा नाका बन्द गरिएको छ । माडर र ठाडीबाहेक सबै सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए । सिरहामा साना र ठूला गरी २३ वटा सीमानाका रहेको छ ।

धनुषामा ३७ बाहेक ३५ वटा सीमा नाका बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार खजुरी र जटहीबाहेकका सबै सीमानाका बन्द गरिएको जानकारी दिए ।

महोत्तरीमा एकबाहेक सबै सीमानाका बन्द गरिएको छ । जिल्लाको भिठामोडबाहेकका नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । महोत्तरीमा भारतसँग सीमा जोडिएका १२ वटा नाकाहरु रहेका छन् ।

सर्लाहीमा पनि दुई वटा सीमानाका मात्रै खोलिएको छ । सदरमुकाम मलंगवा नजिकैको सोनवर्षा र बलरा नाका मात्रै खुल्ला राखी बाँकी सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताए ।

रौतहटमा एक वटा नाका मात्रै खोलिएको छ । गौर भन्सार नाकाबाहेक सबै नाका बन्द गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबीनराज कर्णजीतले जानकारी दिए ।

बाराका ५ वटा सीमा खोलिएको छ । ५ बाहेक सबै सीमा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

पर्सामा एकबाहेक सबै सीमा बन्द गरिएको छ । रक्सौलबाहेकका सबै सीमानाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

कोरोना भाइरस छिमेकी देश भारतमा समेत आइसकेका कारण उच्च सतर्कता अपनाउन सबै जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । अहिले खुल्ला राखिएका सीमामा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरुको स्वास्थ्य जाँच गर्ने गरिएको उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment