शरीर तथा मस्तिष्क दुबैमा हुने तनावलाई कम गर्ने एउटा उत्कृष्ट तरिका हुनसक्छ, योग । केही त्यस्ता योगासनका बारेमा चर्चा गरौं, जसको सहयोगले आफूलाई आफैंलाई शान्त महसुस गर्नु हुनेछ ।
ईगल पोज (गरुडासन)
यो मुद्राले तपाईंको दिमागको एउटा बिन्दुमा केन्दि्रत गर्छ, जुन तनावलाई एउटा सीमासम्म रोक्ने उत्कृष्ट उपाय हुनसक्छ । यसबाहेक यसले काँध तथा हिपहरुमा हुने दुखाइलाई समेत कम गर्न सहयोग पुर्याउँछ, जसबाट तनाव अझ कम हुन सक्छ । जो व्यक्ति कोरोना भाइरसको संक्रमणको बेला घरैमा बसेर अफिसको काम गरिरहेका हुन्छन्, उनीहरुका लागि यो सबैभन्दा राम्रो योगासन पनि हो । जहाँ, यसले काँध तथा हिपको पीडालाई कम गर्छ, त्यही यसले दिमागलाई समेत एउटा भिन्ने प्रकारको शान्ति प्रदान गर्छ । कसरी गर्ने त यो योगासन ?
ईगल पोज (गरुडासन) गर्ने तरिका
-योगा म्याटमा सिधा भएर उभिनु पर्छ ।
-बिस्तारै-बिस्तारै दुबै घुँडालाई तलतर्फ झुकाउनु पर्छ ।
-देब्रे खुट्टालाई दाहिने खुट्टाको वरिपरि लपेट्ने प्रयास गर्नु पर्छ ।
-खुट्टाको कुर्कुच्चा एक-अर्काको माथि बस्न पुग्छ ।
-दुबै हातलाई काँधको उचाइसम्म उठाउनु पर्छ ।
-दाहिने हातलाई देब्रेतर्फको हातमा राख्नु पर्छ ।
-यसक्रममा तपाईंको कुहिनाहरु ९० डिग्रीको कोणमा मोडिनेछ ।
-सन्तुलन बनाउँदै हिप्लाई बिस्तारै-बिस्तारै तलतर्फ लैजानु पर्छ ।
-१५ देखि ३० सेकेण्डसम्म यही स्थितमा रहनु पर्छ ।
-स्वास गहिरो तथा कम गतिले लिंदै-छोड्दै गर्नु पर्छ ।
-आँखालाई बन्द गरेर तेस्रो आँखामा फोकस गर्ने प्रयास गर्नु पर्छ ।
-नकारात्मक भावनाहरुलाई आफ्नो मनबाट हटाउने कुरालाई पटक पटक मनमा सम्झनु पर्छ ।
-बिस्तारै-बिस्तारै सामान्य स्थितिमा फर्किनु पर्छ ।
रेकल्ड बाउन्ड एङ्गल पोज
यसले हिप, तिघ्राको भित्री भाग तथा कम्मरलाई फैलाउन सहयोग पुर्याउँछ । जब हामी एउटै स्थानमा बसिरहन्छौ., त्यस्तो बेला जुन प्रकारको शारीरिक तथा मानसिक तनाव हुन्छ, त्यसलाई पनि यो योगासनले राहत प्रदान गर्छ । यो हिप तथा खुट्टामा भएको तनावलाई हटाउनका लागि पनि उत्तम व्यायाम हो ।
यसलाई तपाईंले कामको बीचमा समेत गर्न सक्नु हुनेछ । यो आसनबाट तपाईंका तिघ्राहरुले समेत आरामको महसुस गर्नेछन् । खुट्टामा हुने दुखाइ तथा थकानको स्थितमा पनि यो आसनको अभ्यास निकै फाइदाजनक हुन्छ ।
कसरी गर्ने यो आसन ?
-शवासनको मुद्रामा ढाडको साहारामा पल्टिनु पर्छ ।
-पाखुराहरुलाई शरीरको दुबैतर्फ खुट्टाको दिशामा फैलाएर राख्नु पर्छ र यो स्थितिमा हातको हत्केला छतको दिशातर्फ फर्किएको हुनुपर्छ ।
-घुँडालाई मोड्दै पैतालाले जमिनमा टेक्नु पर्छ ।
-दुबै पैतालालाई नमस्कारको मुद्रामा एक-अर्काको नजिक ल्याएर जमिनमा टाँसेस राख्नु पर्छ ।
-जति सम्भव हुन्छ, कुर्कुच्चाहरुलाई तिघ्रातर्फ तान्नु पर्छ ।
-त्यसपछि यो मुद्रामा ३० सेकेण्डदेखि १ मिनेटसम्म कायम राख्नु पर्छ र त्यसपछि हातले दुबै तिघ्रालाई थिच्नु पर्छ ।
-अन्त्यमा, बिस्तारै-बिस्तारै सामान्य स्थितिमा फर्किनु पर्छ ।