
९ चैत, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
गृहमन्त्री थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिए ।
यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।
उनले कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।
राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको क्वात्राले बताए ।
उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए ।
गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेकोप्रति राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4