Comments Add Comment

रानी नाकाबाट ९९ हजार भित्रिए

९ चैत, विराटनगर । विराटनगर रानी नाका हुँदै चैत महिनायता मात्र करिब एक लाख सर्वसाधरण नेपाल भित्रिएका छन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्याङ्क अनुसार १ चैतबाट ९९ हजार १ सय ६५ जना भित्रिएका हुन् । हेल्थ डेस्कमा जाँच नगराई भित्रिएकाहरुको तथ्याङ्क संकलन भएको छैन ।

ज्वरो नाप गरेर फर्किएकाहरु कहाँ छन् भन्ने तथ्याङ्क स्थानीय प्रशासनसँग छैन् । हेल्थ डेस्कमा बसेकाहरुले धर्का तानेर स्वास्थ्य परीक्षण गरेकाहरुको तथ्याङक राखेका छन् ।
ठूलो भिड भएका कारण नाम ठेगाना लेख्न नसकिएको हेल्थ डेस्कमा खटिएका कर्मचारीहरु बताउँछन् ।

चैत ३ गतेसम्म आएका हरुको नाम ठेगाना उल्लेख छ । २२ फागुनदेखि ३ चैतसम्म आएकाहरु मध्ये उच्च ज्वोरो भएकाहरुको सम्पर्क नम्बर टिपिएको छ । तर ४ गतेबाट आएकाहरुको गणना भने धर्का तानेर गरिएको छ । धर्का तानिएकाहरु कसैको परिचय उल्लेख छैन् ।

विराटनगर रानी नाका हुँदै चैत ४ गते १६ हजार ६ सय ८ जना भित्रिएका छन् । त्यस्तै ५ गते १६ हजार १ सय २४, ६ गते २४ हजार १ सय ६३, ७ गते १६ हजार ७ सय ७० र ८ गते शनिबार १८ हजार १ सय ६३ जना नेपाल भित्रिएका छन् । भारतमा जनता कर्फ्यू लागेका कारण आइतबार भित्रनेको संख्या नगन्य छ ।

यसरी भित्रिएकाहरु कहाँ छन भन्ने जानकारी स्थानीय प्रशासनसँग छैन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब खड्का आइतबारसम्म आएकाहरुको संख्या उल्लेख भएपनि कहाँ गए भन्ने तथ्याङ्क नभएको बताउँछन् । ज्वरो नापिएकाहरु शंका गर्नुपर्ने अवस्थाका नभएको उनको भनाइ छ । सोमबारबाट भने भारतबाट आउने सबैलाई ट्रयाकिङ गरिने उनले बताए ।
काकडभिट्टाबाट ५३ हजार

सरकारले कोरोना संक्रमण रोक्न सजकता अपनाउँदै नाकामा कडाइ गरेपछि झापाको काँकडभिट्टा नाकामा पछिल्लो एकसातामा ५३ हजार भित्रिएका छन् । काँकडभिट्टाबाट भित्रिएका भारतीयहरुको ट्रयाकिङ गरेको छैन् ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईका अनुसार काडभिट्टा नाकाबाट नेपाली, भारतीय तथा तेस्रो देशबाट भित्रिएकाहरु पनि छन् ।

शंकास्पद लागेपछि चेकजाँच गर्दा केही दिन अघि युक्रेनबाट आएकाहरु फेला परेका थिए । स्वास्थ्य जाँचमा उच्च ज्वरो देखिएपछि उनीहरुलाई भारत नै फिर्ता पठाइएको थियो ।

उनका अनुसार काँकडभिट्टा नाकाबाट चैत ३ गते १२ हजार ६ सय ९८, ४ गते ११ हजार १ सय ३४, ५ गते ८ हजार ४ सय ८६, ६ गते ६ हजार ८ सय ९१, ७ गते ३ हजार ६ सय २० र शनिबार १० हजार ४ सय ४६ जनामा आएको तथ्याङ्क छ । ती मध्ये केही किनमेलका लागि भारतीय बजारबाट फर्किएका, भारतमा रोजगारी गर्ने र तेस्रो मुलुकबाट फर्किएका नेपालीहरु पनि छन् । उनका अनुसार भुटान र बंगलादेशका नागरिक पनि हेल्थ डेस्कमा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment