Comments Add Comment

महानगरीय प्रहरीद्वारा सर्वसाधारणका लागि १५ स्थानमा हात धुने व्यवस्था

९ चैत, काठमाडौं । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रहरीले उपत्यकाका १६ स्थानमा सर्वसाधारणलाई हात धुने व्यवस्था मिलाएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं उपत्यकाका बढी भिडभाड हुने र जोखिममा रहने स्थानमा सर्वसाधारणलाई हात धुनका लागि साबुनसहित पानी ट्याङ्की राखेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेर काठमाडौँ, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानहरूमा पानी ट्याङकी राखिएको जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि अत्यावश्यकबाहेक अन्य सेवाहरू बन्द गर्न निर्देशन दिइसकेको छ । यस्तो अवस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिकको सहजताको लागि यो कदम चालेको पोखरेलले बताए ।

‘साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा केही हदसम्म भए पनि कोरोनाको संक्रमण नियन्त्रण गर्न सकिने विशेषज्ञको राय छ’, पोखरेलले भने, ‘त्यहीअनुसार सर्वसाधारणको सहजताका लागि सार्वजनिक स्थलमा हात धुने व्यवस्था मिलाइएको छ ।’

कोरोना भाइरसको महामारी नियन्त्रण नभएसम्मका लागि रत्नपार्क, बानेश्वर, गौशला, केएमसी अस्पताल, सिनामंगल, महाराजगञ्ज चोक, शिक्षण अस्पताल लगायतका स्थानमा आइतबारदेखि नै पाटी ट्यांकी राखिएको छ ।

त्यस्तै, प्रसुति गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताल लगायत ललितपुर र भक्तपुरका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानमा सोमबारसम्ममा पानी ट्यांकी राखिने पोखरेलले जानकारी दिए ।

सर्वसाधारणलाई अपिल गर्दै पोखरेलले भनेका छन्, ‘हामी तपाईँका लागि बाहिर निस्कन्छौ, हाम्रो लागि तपाईहरूभित्र बसिदिनु होला । अत्यावश्यक कामविना घरबाट बाहिर ननिस्किदिनु होला ।’

नागरिक आफैं सचेत भए मात्र रोगबाट बच्न सकिने बताउँदै उनले भने, ‘सरकारले नै सबै कार्य गरिदियोस् भन्नु भन्दा आ–आफ्नो ठाउँबाट सकेको उपाय अपनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment