Comments Add Comment

कोरोना रोकथामका लागि अमेरिकी सहायता प्रस्ताव इरानद्वारा अस्वीकार

१० चैत, काठमाडौं । कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ ।

इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो क्षेत्रमा २१ हजार ६ सय ३८ जना संक्रमित पुष्टि भइसकेको छ भने १ हजार ६८५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाको सहयोग प्रस्तावलाई अस्वीकार गर्दै इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले भने, ‘अमेरिकाले कोरोना भाइरसको महामारीको बीचमा मद्दत गर्ने प्रस्ताव धेरै पटक ग¥यो । आफैं अभावमा गुज्रिरहेको अमेरिकाले यस्तो प्रस्ताव गर्नु आफैंमा अचम्म छ । दोस्रो कुरा अमेरिकामाथि यो भाइरस पैदा गरेको पनि आरोप छ ।’

खमेनीले भने, ‘सत्य के हो, हामीलाई थाहा छैन । यदि तपाईंलाई यस्तो आरोप लाग्यो भने कुनै बुद्धिमान व्यक्तिले तपाईंलाई भरोसा गर्न सक्छ ? तपाईंले गरेको सहयोग प्रस्ताव स्वीकार गर्न सक्छ ? इरानमा कोरोना भाइरस झन् बढ्ने वा भाइरस सधैं रहीरहने औषधि पनि दिन्छ कि ?’

अमेरिका र इरानले एकअर्कालाई दुश्मन ठान्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतालाई सन् २०१८ मा खारेज गरेपछि दुई देशबीच तनाव बढेको थियो । अमेरिकाले इरानमाथि धेरै प्रकारका प्रतिबन्ध समेत लगाउँदै आएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले यही मौकामा अमेरिकी प्रतिबन्ध हटाउनका लागि दबाब सिर्जना गर्न इरानी जनतालाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment