Comments Add Comment

आजबाट लामो दूरीका यात्रुबाहक सार्वजनिक यातायात सेवा बन्द

१० चैत, काठमाडौं । लामो दुरीका यात्रुबाहक सार्वजनिक सवारी साधन आजबाट बन्द भएका छन् । यातायातका साधन बन्द भएपछि काठमाडौंको गोंगबुस्थित बसपार्क आज सुनसान छ ।

कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।

यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले हिजो लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको थियो । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिएको बताए । उनले एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment