+
+
Shares

आफैलाई जाँचौं, ‘म कस्तो मान्छे ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते ९:४६

अक्सर हामी अरुलाई जाँच्ने गर्छौं । फलानोको बानी यस्तो, फलानोको व्यहोरा यस्तो, फलानोको ढंग यस्तो ।

साथीभाईसँग चिया गफमा हामी आफ्नो भन्दा बढी अरुको चर्चा गर्छाैं । अरुको आनीबानी, प्रवृत्ति सबै केलाउँछौं । साथसाथै फलानो कस्तो हुनुपथ्र्यो, फलानोले कस्तो व्यवहार गर्नुपथ्र्यो, कसरी खानुपथ्र्यों ? हामी  भट्याउँछौं ।

नेपालीमा एउटा उखान त्यसै चलेको होइन, ‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ।’

अरुको आनीबानीबारे केस्रा–केस्रा केलाउने हामी आफ्नो मूल्यांकन भने गर्दैनौं । अर्थात म कस्तो छु ? मेरो व्यवहार कस्तो छ ? मेरो ढंग कस्तो छ ? मेरो बोलिबचनले अरुलाई कस्तो असर पार्छ ? म कस्तो देखिन्छु ?

वास्तवमा हामी अरुलाई त्यही कारण होच्याउने, खोच्याउने गर्छौं कि आफ्नो कमजोरी ढाकछोप गरियोस् । त्यसो नहुँदो हो त हामी साथीभाईसँग गफ गर्दा भन्ने थियौं होला, ‘म यस्तो छु, मेरो यस्तो खराबी छ, मैले सुधार गर्नुपर्ने कुरा यी हुन्, मैले यस्तो गल्ती गरें ।’

तर, जतिसक्दो हामी आफुलाई पूर्ण, परिपक्क देखाउने चेष्टा गर्छौं ।

अतः आफु कस्तो छौं ? आफ्नो व्यवहार कस्तो छ ? आफ्नो बोलीबचन कस्तो छ ? आफ्नो प्रवृत्ति कस्तो छ ? हामी आफै मूल्यांकन गर्न सक्छौं । यसका लागि केही गर्नै पर्दैन, दिनभरको आफ्नो व्यवहार नै नियाल्दा पुग्छ । दिनभर के गरियो, कसरी बोलियो, जाँच्न सकिन्छ ।

एउटा मान्यता के छ भने, ‘संकटको घडीमा मान्छेको पहिचान हुन्छ ।’ अर्थात आपत–विपतको क्षणम मान्छेको शक्ति, सामथ्र्य, बल, बुद्धि, ढंग, प्रवृत्ति, संयमता आदि पहिचान गर्न सकिन्छ । यतिबेला हामीलाई संकटले छोपिसकेको छ । सही मौका यो हो कि, हामी आफुले आफैलाई जाँच्ने ।

यतिबेला विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अतंक मच्याएको छ । उत्तरी छिमेकी चीनबाट फैलिएको र दक्षिणी छिमेकी भारतसम्म असर पु¥याइसकेको यो संकटले हामीलाई पनि घेरा हालिसकेको छ ।

यतिबेला एक सचेत नागरिकको हैसियतले तपाईंले के गर्नुभयो ? आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिनुभयो ? सुरक्षात्मक विधीहरु अपनाउनुभयो ? आफ्ना परिवार र छिमेकलाई सही सुझाव दिनुभयो ?

किनभने कतिपयलाई लागिरहेको हुनसक्छ, यो सरकारको काम हो । अस्पतालको काम हो । डाक्टरको काम हो । तर, यसमा सरकारको प्रयास मात्र काफी हुँदैन । हामी हरेक व्यक्तिले सचेतना र सर्तकता नअपनाएसम्म यसको नियन्त्रण संभव छैन । के तपाईंले यो संवेदनशिलतालाई बुझ्नुभएको छ ? संभवित जटिलताबाट बच्नका लागि राज्यको आह्वानलाई पालना गर्नुभएको छ ?

यो मौकामा कतिपय अटेर गरिरहेका छन्, कतिले झुटो अफवाह फैलाइरहेका छन्, कतिपय कालोबजारी गरिरहेक छन् ।

अहिले हामीलाई लागेको हुनसक्छ, अरुको आदेश किन मान्ने ? अरुको लागि आफुलाई किन सर्तक राख्ने ? आफु सुरक्षित र पुगिसरी भए अरुको के खाँचो ? यस किसिमको संवेदनाहिन र गैरजिम्मेवर सोंचले हाम्रो मूर्खता उदांगो बनाउँछ ।

किनभने यतिबेला हामीले एकढिक्का भएर संकटको प्रतिरक्षा गर्नुपर्नेछ । यसमा हरेक व्यक्तिको उत्तिकै साथ, सहयोग र समर्थन आवश्यक हुन्छ । त्यसैले हामीले आत्म–अनुशासन पालना गर्नुपर्छ । आफुले आफैलाई संयमित, नियन्त्रित, सर्तक राख्नुपर्छ ।

कोरोना भाइरस फैलिइरहँदा हाम्रो पारिवारिक दायित्व कसरी बद्लिएको छ ? हाम्रो समाजिक व्यवहार कस्तो हुँदैछ ? मूल्यांकन गरौं । यसले हामीले आफुलाई चिन्ने मौका पनि दिन्छ ।

यतिबेला असाह्य, अशक्त, कमजोर व्यक्तिहरु जोखिममा छन् । उनीहरुको स्वास्थ्य सुरक्षाका लागि हामीले आफ्नोतर्फबाट के गर्न सक्छौं ? स्वास्थ्यकर्मीहरु जोखिम मोलेर खटिएका छन् उनीहरुको मनोबल उकास्न के गर्न सक्छौं ? अत्यावश्यक उपभोग्य सामाग्रीमा कालोबजारी हुँदैछ यसको विरुद्ध के गर्न सक्छौं ? हामीले आफ्नो भूमिका खोज्न सक्छौं ।

यसबाहेक अन्य समयमा वा परिस्थितीमा हाम्रो व्यवहार कस्तो हुन्छ ? मूल्यांकन गरौं ।

अशक्तको अगाडि

मानौं, कुनै दृष्टिविहिन व्यक्ति असजिलो बाटोमा हिँडिरहेका छन् । उनीहरुलाई धकेल्दै, उछिन्दै हिँड्छौं वा डोहो¥याउन सहयोग गर्छौं ?

सर्वजनिक यातयात चढ्दा होस् वा कुनै पसलमा किनमेल गर्दा उनीहरुलाई कसरी साथ दिन्छौं ?

बुढापकाको अगाडि

मानौ कुनै बृद्धबृद्धा बसिरहेका छन् । उनीहरुलाई सम्मनजनक व्यवहार गर्छौं कि उपेक्षा ?

कमजोर व्यक्तिको अगाडि

कमजोर, गरिब, असह्य, साना व्यक्तिलाई हेपाह व्यवहार गर्ने र ठूलाबढाको चाकडी गर्ने प्रवृत्ति हुन्छ धेरैसँग । यस्ता व्यक्तिलाई हप्काउने, दप्काउने गछौं वा सम्मान र सन्तुलित व्यवहार गर्छौं ?

पशुपंक्षीको अगाडि

मानौं तपाई बाटोमा हिँडिरहेको बेला कुनै भुस्याह अर्थात सडक कुकुर देख्नुहुनेछ, तब के गर्नुहुन्छ ? लात बजार्नुहुन्छ कि साहनुभूतिपूर्वक केही खानेकुरा दिनुहुन्छ ?

सार्वजनिक स्थानमा

सार्वजनिक स्थानमा चुरोट तान्दै, चर्को स्वरमा गफ गर्दै, थुक्दै, कागज–प्लाष्टिक जथाभावि मिल्काउँदै हिँड्छौं कि सभ्य व्यवहार प्रस्तुत गर्छौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?