Comments Add Comment

गोरखा जिल्ला पनि ‘लक डाउन’

१० चैत, गोरखा । कोरोना भइरसको सम्भावित संक्रमण रोक्न गोरखा जिल्ला ‘लक डाउन’ गरिएको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सोमबार साँझबाटै जिल्ला ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

जिल्लामा अति आवश्यक वाहेकका अन्य सवारी चल्न नदिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘निजी गाडीको पनि आवश्यकता र औचित्य हेरेर चल्न दिन्छौं,’ उनले भने । अतिआवश्यक सवारी साधनका चालक र अन्य यात्रु भएमा हेल्थ डेक्समा अनिवार्य स्वास्थ्य परीक्षण गराएर जिल्ला भित्रन दिने उनले बताए ।

अन्य जिल्लाबाट गोरखा भित्रने अधिकांश नाकामा हेल्थ डेक्स स्थापना भइसकेको छ । औषधी तथा खाद्यान्न पसलबाहेक अन्य सबै पसलहरु बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । जिल्लावासीलाई अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

‘हामीले जिल्लावासीलाई घरभित्रै बस्न आग्रह गरेका छौ, बाहिर हिँडेको भेटिएमा प्रहरीले सोधपुछ गर्छ, अति आवश्यक काम रहेछ भने जान दिन्छौ, होइन भने घर फर्काइदिन्छौ,’ उनले भने ।

काठमाडौंमा एक जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएकाले थप सतर्कता अपनाउदै कडाइ गरिएको प्रजिअ पौडेलले बताए ।

‘अर्काे सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेका छौ, कसैले अवज्ञा गरे कानून अनुसार कारवाही गर्छाै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment