Comments Add Comment

कोरोना सतर्कताका लागि प्रदेश २ का प्रत्येक जिल्लालाई ५० लाख

१० चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सतर्कता अपनाउन आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु ५० लाखका दरले रकम पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिलाई यो रकम पठाइसकिएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए ।

उनकाअनुसार प्रत्येक जिल्लाका सशस्त्र प्रहरीलाई समेत २०/२० लाख रुपैयाँ पठाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कोषबाट ती रकम पठाइएको मन्त्री साहले बताए ।

यस्तै, प्रदेश सरकारले १२ लाख रुपैयाँ प्रादेशिक अस्पताल जनकपुरधामलाई र रु १० लाख रुपैयाँ स्वास्थ्य निर्देशनालयलाई दिएको छ । मन्त्री साहले कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्व तयारीका लागि यी रकम दिइएको हो ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयको कोषबाट आठ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई रु ५ लाखका दरले रकम पठाइएको छ ।

मुख्यमन्त्रीदेखि मन्त्रीहरु पनि जनकपुरबाहिर

कोरोना त्रास फैलिएको अवस्थामा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीका साथै प्रतिपक्षी दलका नेताहरु समेत जनकपुरमा छैनन् । कोरोना भाइरसविरुद्व अन्य प्रदेशले बिभिन्न निर्णय गरिसकेको अवस्थामा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु काठमाडौं गएका छन् ।

कर्मचारीले नटेरेको र गत आवको भुक्तानी नभएको विषयमा उनीहरु संघीय सरकार समक्ष डेलिगेसन गएका छन् । ‘म पनि काठमाडौंमै थिएँ’ तर रातारात यहाँ आइपुगें मन्त्री साहले भने, “मेरो दायित्व अन्तर्गतको कुरा भएपछि एक दिनमै काठमाडौंबाट यहाँ आइपुगेको हुँ ।”

यो समय एक्सनमा जानुपर्ने समय हो : मुख्यमन्त्री

मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसविरुद्व एक्सनमा जानुपर्ने समय भएको बताए । काठमाडौंमा रहेका उनले टेलिफोन सम्पर्कमा भने, “तर के गर्नु ? गाह्रो बनाइएको छ ।”

मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्र नहुने बताउँदै उनले कार्यान्वयनमा कर्मचारीले गम्भीर उदासिनता देखाइरहेको  उनले बताए । राउतले केही दिन अगाडि मन्त्रिपरिषद्को बैठक बस्न लाग्दा मुख्य सचिवसहित केही सचिव नै गायव भइदिएपछि बाध्य भएर संघीय सरकार समक्ष जानुपरेको सुनाए ।

‘हामी त निर्णय गर्‍छौं, चेक त हामीले काट्न सक्दैनौं,’ उनले भने, “हामीलाई समस्यामा पारिएको छ ।”

प्रदेश लक डाउन हुन सक्छ : मन्त्री सोनल

कर्मचारी अभावको विषयमा संघीय सरकार समक्ष डेलिगेसन जाने टोलीमा सहभागी भएका प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल पनि काठमाडौंमै छन् । यद्यपी उनी मंगलबार बिहानैसम्म जनकपुरधाम आइपुग्ने बताए ।

टेलिफोन सम्पर्कमा उनले भने, “जिल्लाहरुलाई आवश्यक तयारीका लागि बजेट पठाइसकिएको छ । अन्य निर्णयहरु हामी जनकपुर पुगेर गर्नेछौं ।”

मन्त्री सोनलले जनतालाई हात धुने व्यवस्था मिलाउन सबै स्थानीय तहसँग आग्रह गरिसकिएको बताउँदै साबुन, पानी सेनिटाइजर जनतालाई उपलब्ध गराइदिन समेत अपिल गरिएको बताए ।

कोरोना भित्रिन नदिन लक डाउन नै गर्नुपरे गर्न तयार भएको बताउँदै मन्त्री सोनलले यसबारेमा मंगलबार छलफल हुने बताए । ‘लक डन नै गर्नुपरे गर्न तयार छौं’ उनले भने, “यद्यपी हाम्रो अधिकार क्षेत्र कति छ, त्यसबारे छलफल गर्छौं । मान्छेको जीवनभन्दा ठूलो केही छैन् । त्यसैले हामी छलफल गरेर निर्णय गर्न सक्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment