Comments Add Comment

बसिबियालो : केही मीठा बात गरौं

‘तुफनले विध्वांश मात्र मच्याउँदैन, भएका फोहोर पनि बढारेर लान्छ ।’ यतिबेला कोरोना भाइरसले उत्पात मच्याइरहेको छ, सारा विश्वमा । मृत्यु, रोग, भय, चिन्ता, उदासी, असहजता र आतंक बोकेर विश्व फन्को लगाइरहेको कोरोना भाइरसले केही सकारत्मक पाटो देखाइदिएको छ । खासगरी मानविय समाज, स्वास्थ्य संवेदनशिलतामा ।

पृथ्वीमा बसोबास गर्ने सात अर्ब बासिन्दा नै यतिबेला विशेष स्वास्थ्य–सर्तकता अपनाइरहेका छन् । सरुवा रोगले कसरी सताउँछ र त्यसबाट आफुलाई रक्षात्मक अवस्थमा राख्नका लागि के गर्नुपर्छ भन्ने ठूलो पाठ दिएको छ, कोरोनाले । के अनुमान गर्न गाह्रो छैन भने, विश्वमा अहिले मानिसहरु जति सचेत र सर्तक अवस्थमा छ, त्यस्तो सावधानी सायदै अपनाएका थिए होलान् ।

कोरोनाको आक्रमण बढिरहँदा त्यसको प्रतिकारमा विश्व गोलबद्ध भएको छ । आपसी द्वेष, स्वार्थ त्यागेर विश्व अहिले कोरोना भाइरसको बिरुद्धमा उभिएको छ । को आफ्नो, को पराई भन्ने र खुच्चिन गर्ने प्रवृत्तिलाई माइनस सून्य डिग्रीमा झारेर भाइचाराको आलिंगानमा सबैजना बाँधिएका छन् । यसले संभवत सम्बन्धको नयाँ आयम पेश गरेको छ ।

विश्वका धनाड्यहरुले समग्र मानव समुदायकै खातिर आफ्नो सम्पति खर्च गरिरहेका छन् ।

कोरोना भाइरस विरुद्धको औषधि–उपचारको खोज\अध्ययन गर्न, अस्पताल बनाउन, सुरक्षाका सामग्री र उपकरणहरु बितरण गर्न अर्बपतिहरुले मन खोलेर धन खर्चिरहेका छन् । सम्पूर्ण मानव हितका लागि उनीहरु पग्लिएका छन् ।

हाम्रै सन्दर्भमा कुरा गरौं ।

जतिबेला कोरोना भाइरसको आतंक उत्कर्षमा पुग्दै गयो, कति यस्ता मनकारी निस्किए जसले आफ्नो सिंगो घरलाई क्वारेनटाइन बनाउनका लागि खुला छाडिदिए । एक दम्पतीबाट सुरु भएको यो अभियान अहिले पनि जारी छ । कतिपयले आफुसँग रहेको घर, भवनलाई स्वास्थ्य–सेवाको लागि प्रयोग गर्न हार्दिकतापूर्वक छाडिदिएका छन् ।

समाजमा खराब, स्वार्थी मान्छे मात्र छैनन् । मौका पाउनसाथ भ्रष्टचार गर्ने र कालोबजारी गर्नेहरु मात्र छैनन् । ‘मै खाउँ, मै लाउँ । मै सुख–सयाल वा मोज गरौं’ भन्ने दुषित भावनाका मान्छेहरु मात्र छैनन् । समाजमा मनकारी, सहृदयी, स्वच्छ मान्छेहरु पनि छन् भन्ने सन्देश गएको छ ।

कतिपय युवाहरु स्वयम्सेवकको रुपमा खटिएका छन् भने कतिपयले मास्क, सेनिटाइजर जस्ता सुरक्षाका लागि अपनाइने सामाग्रीहरु निशुल्क वितरण गरिरहेका छन् ।

पार्टीको आमसभा, बन्द–हड्ताल आदिमा गाउँ–गाउँ पुगेर सर्वसाधरण ओसार्ने, भिड देखाउने नेता–कार्यकर्ता जस्ता कुरुप प्रवृत्तिका व्यक्तिहरु मात्र छैनन् । सेवा भावले ओतप्रोत भएर हार्दिकतापूर्वक राज्यलाई सघाउने, सर्वसाधरणको हितमा खटिने जमात पनि छ भन्ने सन्देश फैलिएको छ ।

अधिकांशले यतिबेला व्यक्तिगत सरसफाई र सुरक्षाको विधी अपनाएका छन् । यो अवधीमा धेरैजसोले कसरी संभवित जोखिमबाट बच्ने, कसरी सामाजिक दुरी कायम राख्ने, कसरी मन र शरीरलाई बलियो बनाउने, कसरी प्रतिरक्षा क्षमता बलियो बनाउने, कसरी परिवारसँग रमाएर बस्ने, कसरी चिन्तामुक्त बन्ने भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

समाजमा भय, अफवाह, भ्रम फैलाएर भद्दा रमाइलो गर्नेहरु मात्र छैनन् । सचेत, जागरुक र सामाजिक उत्तरदायित्व बोध गर्ने व्यक्तिहरु पनि छन् भन्ने सन्देश फैलिएको छ । त्यसैले नसोचौं कि, सबैतिर अध्याँरो छ । दुःख र समस्या छ । भय र त्रास छ । सोचौं, कतिपय कुरा त राम्रो  र सकारत्मक पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment