११ चैत, चितवन । सरकारले खोलेको ‘भरतपुर कोरोना विशेष अस्पताल’मा मंगलबार बिहान बीरगञ्जका ३० बर्षीय सन्तोष यादवको मृत्यु भयो ।
यादवलाई ‘कोरोना विशेष अस्पताल’ मै राखिएको भएता पनि उनको मृत्युको कारणचाहिँ बिरामी मरिसक्दा पनि चिकित्सकले पत्ता लगाउन सकेका छैनन् । र, यसैमा झल्किन्छ हाम्रो देशको जनस्वास्थ्यको तस्वीर ।
बिरामी घुमेको घुम्यै, चिकित्सक पनि गोलचक्करमा
बीरगञ्ज महागनरपालिका वडा नं. २२ जगन्नाथपुरका ३० बर्षीय युवक सन्तोष यादव उच्च ज्वरो आएपछि चैत ९ गते चितवन मेडिकल कलेजमा आए ।
चितवन मेडिकल कलेजमा उनी आफन्त विमलकुमार यादव र अर्की एक महिलाका साथमा आइपुगेका थिए । अस्पताल आउँदा सन्तोषलाई १०२ डिग्रीभन्दा बढी ज्वरो थियो । लगातार खोकी लागिरहेको थियो ।
चितवन मेडिकल कलेजमा निर्देशक डा. दयाराम लम्सालका अनुसारलाई सन्तोषलाई सामान्य जाँच गरेर कोरोनाको आशंकामा थप उपचारका लागि ‘कोरोना विषेश अस्पताल’ मा रिफर गरिएको थियो ।
कोरोना अस्पतालले उनको नाम २० नम्वरमा दर्ता त गर्यो । तर, भर्ना गर्न मानेन ।
सन्तोषलाई ‘कोरोना विषेश अस्पताल’बाट पुनः चितवन मेडिकल कलेजमै फिर्ता ल्याइयो । तर, चितवन मेडिकल कलेजमा केही समय राखेर डाक्टरहरुको भनसुनपछि पुनः राति ८.३० बजे फेरि ‘कोरोना विषेश अस्पताल’मै पठाइयो र भर्ना गरियो, जहाँ उनको करिब ३६ घण्टापछि मृत्यु भयो ।
बिरामीको ट्राभल हिस्ट्री थिएन
चितवन मेडिकल कलेजका निर्देशक डा. लम्सालले सन्तोषको ट्राभल हिस्ट्री त्यस्तो केही पनि नभएको बताए ।
‘उनलाई उच्च ज्वरो थियो, तर विदेशबाट आएको त्यस्तो केही पनि ट्राभल हिस्ट्री थिएन’ डा. लम्सालले भने, ‘तर वीरगञ्जमा कोरोना भएको भनेर त्यही दिन हल्ला फैलिएकाले हामीले सचेतना अपनाएका थियौं ।’
डा. लम्सालले यादवलाई ‘लुपस’ भन्ने रोग भए पनि डायलासिस नै गर्नुपर्ने अवस्थामा भने नभएको बताए ।
सन्तोषको अवस्था जटिल बनेपछि परिवारका सदस्यले डायलासिस गराउन बाहिर लैजान्छौं भनेर अनुरोधसमेत गरेको उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले जानकारी दिए ।
मृतक यादवमा कोरोना संक्रमण भए/नभएको रिर्पोट ढिला आउँदा बाहिरका अस्पतालमा पठाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ‘कोरोना विषेश अस्पताल’ मा सघन उपचार कक्ष (आईसीयू) बनाइए पनि केही उपकरणहरु अझै जडान हुन बाँकी छ ।
कोरोना विशेष अस्पतालको तर्क
चैत्र ९ गते राति कोरोना अस्पतालमा भर्ना गरिएका यादवको मंगलबार बिहान ९: ३० बजे निधन भएको कोरोना बिशेष अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्तिमार्फत जनाएका छन् ।
मंगलबार डा. अधिकारीले विज्ञप्ति जारी गर्दै मृत्यु भएका युवकमा दीर्घरोगहरु रहेको जनाएका छन् । उनमा कोरोना भए/नभएको परीक्षण गर्न स्वाब चैत १० गते टेकु पठाइए पनि रिर्पोट नआउँदै उनको मृत्यु भयो ।
सोमबार दिउँसोदेखि श्वास–प्रश्वासमा केही समस्या बढेपछि उनलाई अस्पतालकै सघन कक्ष (आइसीयु) मा सारिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती युवकमा ‘लुपस’ भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएको चिकित्सकको तर्क छ ।
कोरोनाबारे उनको रिपोर्ट आउन बाँकी भएकाले शवलाई मंगलबार बेलुकासम्म अस्पतालमै राखिएको छ ।
चितवन मेडिकल कलेज र कोरोना विशेष अस्पतालका दुबै ठाउँका चिकित्सकहरु कोरोनाको उपचार गर्ने कि अन्य रोगको उपचार गर्ने भन्ने गोलचक्करमा रुमलिएको देखिन्छ ।
कोरोना भाइरसको उपचार नहुने त निश्चितै छ, तर अस्पतालले निमोनियाको ब्याटेरियासमेत परीक्षण गरेको देखिँदैन ।
रिपोर्ट आउन ४८ घण्टासम्म लाग्छ : निर्देशक झा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंकी निर्देशक रुना झाले यादवको प्रयोगशाला नतिजा आउन समय लाग्ने बताइन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले यादवको स्वाब २ बजे प्राप्त गरेको र रिपोर्ट आउन २४ देखि ४८ घण्टासम्म समय लाग्ने उनले बताइन् ।
चितवनको कोरोना विशेष अस्पतालले चैत १० गते नै नमुना संकलन गरी पठाएको बताए पनि निर्देशक झाले चैत ११ गते दिउँसो २ बजेमात्र रिपोर्ट पाएको बताइन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4