Comments Add Comment

लकडाउनमा लापरबाही : नबुझेको कि बुझ पचाएको ?

३४५ मोटरसाइकलको चाबी खोसियो

११ चैत, पोखरा । पोखरामा मंगलबार साँझपख मानिसहरु घरबाट बाहिर निस्किएर टहलाउन थाले । नेपाल बन्द हुँदा ५ बजे खुलेजस्ते मान्छेहरु ‘इभिनिङ वाकिङ’मा निस्किए । मानिसहरु ससाना समूहमा सडकमा हिँड्न थाले ।

कतिसम्म भने केही युवा भलिबल खेलिरहेको भेटिए । कोठामा बस्दा बस्दा दिक्क लागेर बाहिरको स्थिति बुझ्न इभिनिङ वाकमा निस्किएको बारा घर भई पोखरा बस्ने सञ्जय यादवले बताए ।

सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ होइन र भन्दा भीडमा नगएर एकछिन निस्किँदैमा कोरोनाले केही नगर्ने प्रतिक्रिया दिए । उनले जस्तै बाहिर निस्किएका हरेकले यस्तै केही न केही तर्क वा बहाना बनाए ।

विश्वभर संकट निम्त्याएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि समुदायमा फैलिन नपाओस् भनेर सरकारले घरमा सुरक्षित रुपमा बस्न आग्रह गरेको थियो । तर नागरिकहरुले नै आफ्नो सुरक्षाको विषयलाई हल्लाका रुपमा लिएको देखियो ।

‘कोरोना संक्रमणले विश्वलाई नै हल्लाइरहेको छ । नेपालमा समेत प्रवेश भइसकेको छ । अब यसलाई नियन्त्रण गर्ने भनेकै नागरिकको चेतना र साबधानीले मात्रै हो,’ प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्मा भन्छन्, ‘तर नागरिकले सरकारले गरेको लकडाउनको अर्थ अझै गम्भीर रुपमा लिएको देखिएन । सरकारले डण्डा लगाएर घरमा राख्ने होइन, जनताले विवेक प्रयोग गरेर घरमै बस्ने हो ।’

कोरोना संक्रमणबाट बच्न भीडभाड नगर्ने, हात नमिलाउने, घर बाहिर ननिस्कने, अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने सरकारले भनेको छ । तर सरकारको आग्रहलाई बेवास्ता गर्ने नागरिकलाई प्रहरीले सम्झाएर घर पर्काउनुपर्ने अवस्था सिर्जना हुनु कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसी बताउँछन् ।

‘आफ्नै स्वास्थ्यका लागि हो अर्काले सम्झाउनुपर्ने ? हामी किन गम्भीर हुन सकिरहेका छैनौं,’ डिएसपी केसीले भने, ‘अनावश्यक घरबाट बाहिर निस्कनेलाई सम्झाएर घर फर्काएका छौं । अब यस्तै भयो भने पक्राउ नै गर्छौं ।’

कोरोना मानिसबाट मानिसमा र हावाबाट समेत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने अध्ययनले देखाइसकेको छ । तर नागरिकले पूर्ण रुपमा लक डाउनको पालना नगर्दा कोरोनाको संक्रमणले भयावहकै अवस्था आउन सक्छ ।

नागरिकको ससानो लापरबाहीले भोलि ठूलो मानवीय क्षति हुन सक्ने डा. रामचन्द्र बास्तोला बताउँछन् । यस्तो माहामारीका बेला जनता नै सचेत भएमात्र जित्न सकिने उनको भनाइ छ । ‘अनुशासित बनौं यो लकडाउन पिरियडमा चैत्र ११–१८ गतेसम्म,’ डा बास्तोलाले भने, ‘देशका निम्ति होइन, आफ्नै लागि सोचौं ।’

एक जना बाहिर ननिस्कनु भनेको आफूमात्रै नभई परिवार, समाजलाई सुरक्षित बनाउनु भएको डा. विनोद बताउँछन् । मान्छे बाहिर गएर नल्याउँदासम्म कोरोनो आफैं घरभित्र नआउने भएकाले सरकारको अनुरोध मान्न डा. शर्माको सुझाव छ ।

तर सर्वसाधारण मात्रै होइन, माननीयले समेत सरकारको आग्रहको अवज्ञा गरेका छन् । प्रदेश सांसद राजीव पहारीले लकडाउनको पहिलो दिन घरमाथिको जंगलको बीचमा रहेको गुम्बामा भन्दै फेसबुकमा फोटो सार्वजनिक गरेका छन् ।

सांसदले नै सरकारी अनुरोधको अवज्ञा गरेको भन्दै आलोचनासमेत भइरहेको छ । आलोचनापछि सांसद पहारी फेसबुकबाट फोटो हटाएका छन् ।

३५० मोटरसाइकलको चाबी खोसियो

लकडाउनको पहिलो दिन सबैजसो पसल, यातायात सबै बन्द भए । तर अत्यावश्यकबाहेक सवारी साधन नचलाउनु भन्ने सरकारको अनुरोधलाई केहीले अवज्ञा गरे । यसरी अवज्ञा गर्नेहरुको चावी ट्राफिक प्रहरीले खोसेको छ ।

‘मानिसहरुले यो आफ्नै लागि हो भन्ने किन बुझ्दैनन् ?’ जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले भने, ‘हामीले चाबी खोसेर बाइक डोर्‍याएर घर फर्कन लगाएका छौं । ता कि फेरि मोटरसाइकलमा बाहिर ननिस्कोस् भनेर ।’

लकडाउनको पहिलो दिन साँझ ६ बजेसम्म साडे ३ सय मोटरसाइकलको चाबी खोसिएको उनले जानकारी दिए । ‘अत्यावश्यक छ भने त चलाउने हो । तर सरकारले जहाँ छौ त्यहीँ घरभित्र सुरक्षित भएर बस भनेर आग्रह गर्दा त मान्नुपर्‍यो नि,’ रोकाले भने, ‘यत्रो सन्त्रासमा पनि मानिसहरु किन गम्भीर हुन्नन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment