Comments Add Comment

बाग्लुङका युवक कोरोना संक्रमितसँगै नेपाल आएका हुन् ?

सरकारले सूचना लुकाउँदा देशैभरि सन्त्रास

११ चैत, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फ्रान्सबाट फर्किएकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको पुष्टि गरेपछि अहिले उनी चढेको विमानमा कोको आएका थिए भन्ने खोजीनीतिमा सरकार लागिरहेको छ ।

संक्रमित युवती कतार एययरवेजको विमानबाट चैत ४ मा काठमाडौं झरेकी थिइन् । अस्पतालको रिपोर्टले ९ गते साँझ संक्रमणको पुष्टि गरेपछि ती युवतीलाई अस्पतालले आइसोलेसनमा राखेको छ ।

चैत ४ मै कतार एययरवेजकै जहाजबाट काठमाडौं आएका बाग्लुङ अजय मंगलबार बिहानदेखि सेल्फ क्वारेन्टाइनमा छन् । रोजगारीको सिलसिलामा कतार पुगेका अजय ४ गते बिहान ९ः५० मा काठमाडौं आइपुगेका थिए ।

पीपीई नहुँदा एक मिटर परैबाट हेरेर डाक्टर फिर्ता

मंगलबार बिहान ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, बुर्तिवाङ स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, इन्स्पेक्टर लगायतको टोली, अजयको घर पुगे ।

गाडीमा डेढ घण्टाको समय लगाएर पुगेको टोलीसँग कोरोनाको बिरामी जाँच गर्दा लगाउने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट(पिपिइ)  थिएन । स्वास्थ्यकर्मीको टिमले एक मिटरको दुरी कायम गरी लक्षण जाँच गरे । डा. मल्ल भन्छन्, ‘उनी स्वस्थ्य छन् । कुनै पनि लक्षण देखिएको छैन । त्यसैले छुट्टै घरमा सेल्फ क्वारेन्टाइनमा राखेर फर्किएका छौँ ।’

स्वास्थ्यकर्मीको टिमले पीपीईको अभावमा परीक्षणका लागि अजयको खकारसमेत लिन सकेन । डा. मल्ल भन्छन्, ‘हामीले धेरै ठाउँमा पीपीई खोज्यौँ, जिल्लामा पनि भन्यौँ । तर पाएनौँ ।’

अजयमा कुनै पनि लक्षण नभएकाले आफूहरुले टेस्टका लागि खकार नलिएको उनले उल्लेख गरे । उनले भने, ‘कुनै लक्षण देखिएमा तुरुन्त खबर गर्न भनेका छौँ ।’

वडाअध्यक्षको निरीक्षणमा अजयलाई होम क्वारेन्टाइनमा राखिएको मेयर देवकुमारले बताए । १० दिनसम्म अजयलाई उनकै परिवारले खाना पकाएर खुवाउनेछन् ।

२४ वर्षीय अजयका घरमा चार सदस्य छन् । अजयलाई क्वारेन्टाइनमा त राखियो, तर उनी संक्रमित युवती चढेकै विमानबाट आएका हुन् भन्नेमा स्वयं स्वास्थ्य परीक्षण गर्न गएको टोलीसमेत स्पष्ट छैन । मेयर देवकुमारले भने, ‘राष्ट्रिय मिडियामै आएको हुनाले हो कि भनेर हामी गएका हौँ ।’

सरकारले सूचना लुकाउँदा समस्या

चैत ४ गते कतार एयरवेजका तीनवटा विमान काठमाडौंमा अवतरण गरेका थिए । तीमध्ये कुन विमानमा संक्रमित युवती चढेकी थिइन् भन्ने विवरण सार्वजनिक नहुँदा अन्योल छाएको छ ।

क्वारेन्टाइनमा राख्नेवित्तिकै खबर छ्यापछ्याप्ती भयो । कोरोना संक्रमितसँगै नेपाल आएका युवकलाई क्वारेन्टाइनमा राखिएको भनेर सामाजिक सञ्जालमा आएसँगै बागलुङ जिल्लाभर त्रास फैलिएको छ ।

ढोरपाटनबासीहरु अत्तालिन थालेका छन् । तर स्वास्थ्य मन्त्रालयले अजय संक्रमित युवतीसँगै आएका हुन् वा होइनन् नखुलाएको मात्र होइन, संक्रमित आएको विमानबारे नै सूचना लुकाएको छ ।

उसोभए के आधारमा अजयको घरमा पुग्यो त स्वास्थ्यकर्मी र मेयरको टोली ? डा. मल्ल भन्छन्, ‘हिजो बेलुकीसम्म केही थाहा थिएन । तर, विहान उठ्दा सामाजिक सञ्जालमा भाइरल भएको थियो । नगरपालिका र जिल्ला स्वास्थ्य केन्द्रबाट पनि खबर आयो । त्यसैले हामी पुगिहाल्यौँ ।’

संक्रमितसँग आफू आएको हो वा होइन भन्ने कुरा अजयलाई थाहा हुने कुरै भएन । उनी भन्छन्, ‘एक्कासी बिहान फोन आयो, त्यसपछि डाक्टर र मेयरहरु आउनुभयो र मलाई छुट्टै बस्न भन्नुभयो ।’

आफूले संक्रमित युवतीलाई नचिन्ने भएकाले यसबारे आफुलाई कुनै जानकारी नभएको अजय बताउँछन् ।

तर, अहिले भने उनी निकै अत्तालिएका छन् ।

यसबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरुङलाई सम्पर्क गर्दा उनले नगरपालिकाबाटै खबर आएको जानकारी दिए । उनलाई सूचना दिने देवकुमार बाहेक अन्य कुनै आधिकारिक स्रोत छैन । ‘अजय साँच्चिकै संक्रमित चढेको विमानबाटै आएका हुन् भन्ने हामीलाई पनि थाहा छैन’, सुरज भन्छन् ।

यसले के प्रष्ट पार्छ भने हल्लै हल्लामा मेयर र डाक्टरको टिम अजयको घरमा पुग्यो र क्वारेन्टाइनमा राखेर आयो ।

देश नै क्वारेन्टाइनमा गएका बेला अजयलाई सेल्फ क्वारेन्टाइनमा राख्ने कुरा अनौठो होइन । तर, अझै पनि उनी संक्रमित चढेकै विमानबाट काठमाडौं आएका हुन् वा होइनन् भन्ने स्पष्ट हुन सकेको छैन । त्यसैले ४ चैतमा कतार एयरवेजबाट काठमाडौं फर्कने सम्पूर्ण यात्रुहरु चिन्तामा परेका छन् ।

यात्रुसँग स्थानीयवासी पनि त्रसित बनेका छन् ।

बाग्लुङकै जस्तो घटना धरानमा पनि भएको छ ।

यो पनि पढ्नुहोस कतारबाट आएका युवा धरानमा भेटिए, एकजनालाई टाँडी क्वारेन्टाइनमा पठाइँदै

उता उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ का अर्का एक जना युवकलाई पनि मंगलबार धरानस्थित बीपी कोइराला अस्पतालमा पुर्‍याइएको छ । उनीपछि कतारबाट नेपाल फर्किएका व्यक्ति हुन् ।

यो पनि पढ्नुहोस कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment