Comments Add Comment

देश पुरै लकडाउनमा छ, वायु प्रदूषण चाहिँ किन घटेन ?

१२ चैत, काठमाडौं ।  सरकारले कोरोना भाइरसका कारण मुलुकलाई एक साताको लागि लक डाउन गरेको छ । काठमाडौंमा अत्यावश्यक बाहेक उद्योग कलकारखाना र सवारी साधनहरु बन्द छन् । तर, काठमाडौं उपत्यकाको वायु प्रदूषण भने अझै खतराको सूचीभन्दा माथि छ ।

वातावरण विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रको तथ्यांक अनुसार ललितपुरको पुल्चोक केन्द्र सहित झुम्का केन्द्र र सिमारा केन्द्रमा वायु प्रदूषणले खतराको तह पार गरेको वातावरण विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले मुलुक लकडाउन हुँदा समेत वायु प्रदूषणले खतराको तह पार गरेको तथ्यांकले आफूहरुलाई समेत अचम्मित पारेको जानकारी दिए । उनले सिमारा, झुम्का र पुल्चोकको वायु प्रदूषण समेत अपेक्षाकृत रुपमा नघटेको भन्दै यस विषयमा विभागका अधिकारीहरुबीच समेत छलफल गर्न लागिएको उनले जानकारी दिए ।

 

‘यो तथ्यांकले हामीलाई समेत अचम्मित बनाएको छ ।’ वातावरण विभागका प्रवक्ता समेत रहेका जोशीले भने ‘हामी आज कुर्छाैं यदि भएन भने यस विषयमा विभागमा छलफल गरेर के भएको हो ? पत्ता लगाउनेछौं ।’ उनले आइतबार पानी परेपछि घट्नुपर्ने प्रदूषण पनि अपेक्षाकृत रुपमा नघटेको जानकारी दिए ।

विभागको प्रदूषण मापन गर्ने प्रविधिमा केही त्रुटि भएको हो कि भन्न पनि नेपाल स्थित अमेरिकी दूतावासको परिसरमा रहेको प्रविधिले समेत बुधबार बिहान ८ बजेदेखि ९ बजेबीचको तापक्रममा रातो चिह्न देखाएकोले प्रदूषण नै अपेक्षाकृत रुपमा घट्न नसकेको हुनसक्ने देखिएको जोशी बताउँछन् ।

नेपाल स्थित अमेरिकी दूतावासमा रहेको वायु प्रदूषण मापन केन्द्रमा बुधबार बिहान नौ बजेको तापक्रम १५१ एक्यूआई पुगेको देखिएको छ । त्यस्तै, यो समाचार तयार पार्दासम्म विभाग अन्तर्गत्को ललितपुरको पुल्चोकमा रहेको केन्द्रको वायु प्रदूषण १५६ एक्यूआई रहेको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, सिमाराको वायु प्रदूषण १६२ एक्यूआई देखाएको छ भने झुम्काको तापक्रम १६८ रहेको उल्लेख गरिएको छ । रत्नपार्कको दैनिक वायुप्रदूषणको अवस्थाको बारेमा भने विभागले अपडेट गराएको छैन । यद्यपि रत्नपार्क स्टेसन आसपासको क्षेत्रलाई हरियो सूचीमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment