Comments Add Comment

बाहिरबाट आएकाको पहिचान गर्न स्थानीय सरकारलाई मुख्यमन्त्री राउतको निर्देशन

१२ चैत, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो दुई हप्तायता बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गर्न सम्बन्धित निकाय र स्थानीय सरकारलाई निर्देशन दिएका छन् । उनले यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने प्रबन्ध (आइसोलेसन) मिलाउन भनेका छन् ।

राउतले दक्षिणी सीमाका सबै साना ठूला प्रवेशद्वारमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउन सुरक्षा संयन्त्रलाई विशेष अनुरोध गर्दै संकटको यस घडीमा जनताको जीउधनको सुरक्षामा कुनै किसिमको आँच आउन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राउतले बुधबार एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् । यस सम्बन्धमा कुनै पनि किसिमको सहयोग र सहायता आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार, निजी क्षेत्र, गैसस र सम्पूर्ण जनसमुदायलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्दै राउतले नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनलाई सफल पार्न आग्रह गरेका छन् ।

निहित स्वार्थ राखी दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने जस्ता गैरकानूनी क्रियाकलाप नगर्न नगराउन पनि आग्रह गर्दै मुख्यमन्त्री राउतले यस्तो कार्य गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment