Comments Add Comment

लकडाउनमा काठमाडौंको हावाको गुणस्तरमा सुधार

१२ चैत, काठमाडौं । सरकारले मंगलबारदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि काठमाडौं उपत्यकासहित देशभर प्रदुषण घटेको छ ।

उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायुको गुणस्तर सुधार भएको हो । मानिसहरु घरबाहिर निस्कन छाडेपछि मानवीय कारणले हुने वायु प्रदुषण पनि घटेको छ ।

हिउँदयाममा प्रदुषण मापन गर्दा सधैं ‘रेड जोन’ मा रहने काठमाडौं ‘लकडाउन’ पछि ‘ग्रीन जोन’मा पर्न थालेको छ । यसले काठमाडौंको हावाको गुणस्तर धेरै राम्रो भएको देखाउँछ ।

सरकारले राखेको प्रदुषण मापन केन्द्रका तथ्यांकअनुसार वीरगञ्ज (सिमरा) बाहेकका अन्य क्षेत्रमा वायु प्रदुषण कम भएर ग्रीन तथा एल्लो जोन कायम भएका छन् ।

तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमा दिउँसो २ बजेको आसपासमा वायु प्रदुषण (पी.एम २.५) को स्तर १७.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पी.एम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदुषण भएको मानिन्छ ।

रत्नपार्कको पी.एम २.५ को मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्डभन्दा आधा कम हो । यसबाट काठमाडौंकोको वायुको गुणस्तर निकै सुधार गएको थाहा हुन्छ ।

काठमाडौंको शंखपार्कमा पीएम २.५ को परिमाण पीएम २.५ को मात्रा २७.७ माइक्रोनप्रति घनमिटर छ भने भैँसेपाटीमा २१.३, भक्तपुरमा २७.२ र धुलिखेलमा २३.१ माइक्रो मिलिलिटर प्रति घनमिटर छ ।

उपत्यकाबाहिर पनि हावाको गुणस्तर राम्रो छ । पोखरामा पीएम २.५ को मात्रा २५.२ माइक्रोनप्रति घनमिटर छ । सुनसरीमा ९४.४, नेपालगञ्जमा १६.८, दाङमा २१.१ र धनकुटामा ३०.७ माइक्रोनप्रति घनमिटर छ ।

ललितपुरको पुल्चोक र सिमाराको वायुको गुणस्तर भने मापदण्डभन्दा कमजोर देखिएको छ । पुल्चोकमा २ बजे आसपास पीएम २.५को मात्रा ६९.६ माइक्रोनप्रति घनमिटर छ भने सिमरामा ८१.९ माइक्रोनप्रति घनमिटर छ ।

नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डले ०६९ ले पीएम् २.५ को मापदण्ड ४० माइक्रोन प्रति घनमिटर कायम गरेको छ । काठमाडौंको पुल्चोकमा मात्रै वायु प्रदुषणको मापदण्ड नाघेको छ ।

सामान्यतया पीएम् २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोन भन्दा कम हुन्छ । यी कणहरु श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ । भारत, पाकिस्तानहरुका देशहरुमा पीएम २.५ को मात्रा मापदण्डमा तोकेको छ ।

नेपालका सबैजसो भागमा पीएम १० मा मापदण्डअनुसार कै वायुप्रणाली सक्रिय छ । पीएम १० भनेको १० माइक्रोनभन्दा कम व्यास भएका कणहरु हो । यी कणहरु श्वासप्रश्वासको तल्लो भागसम्म पुग्न सक्छ, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्छ ।

विभिन्न देशहरुमा पीएम १० को मात्रा फरक–फरक छ । नेपाल सरकारले पीएम १० को मापदण्ड १२० माइक्रोन प्रतिघनमिटर कायम गरेको छ ।

नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले वायु प्रदुषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । टीएसपी भनेको ‘टोटल सस्पेण्डेड पार्टिकल्स’ हो । यसमा पनि सबै क्षेत्रमा राम्रो सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment