Comments Add Comment

भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु

नमुना परीक्षणका लागि भोलि पठाइने

१२ चैत, पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदराबादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।

‘उनमा मुटु, कलेजो र सुगरको पनि समस्या रहेछ । रिपोर्ट आएपछि बाँकी कुरा पत्ता लाग्ला’ उनले भने ।

नेपालीमा कोरोना संक्रमणको यकिन गर्न नमूना संकलन गरिसकिएको प्रदेश प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् । उक्त नमुना भोलिमात्र परीक्षणका लागि काठमाडौं पठाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment