Comments Add Comment

‘कोरोना रोकथाम र उपचारमा संलग्नलाई सुरक्षा सामग्री देऊ’

१२ चैत, हेटौंडा । उच्च अदालतले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा खटिनेहरुलाई आवश्यक सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन वागमती प्रदेश सरकारलाई आदेश दिएको छ ।

अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु अविलम्ब सुरु गर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

यस्तै अदालतले यस विषयमा छलफलका लागि विपक्षीहरुलाई चैत १९ गते बोलाएको छ । अधिवक्ता चौलागाईंले मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाई चैत १० गते रिट दायर गरेका थिए ।

रिट निवेदकको पक्षबाट अधिवक्ता चौलागाई, मनप्रसाद भट्टराई, सञ्जीवप्रसाद पराजुली र बालकृष्ण अधिकारीले बहस गरेका थिए । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment