Comments Add Comment

अरु अस्पतालको सेवा बन्द हुँदा कोरोना विशेष अस्पतालमा चाप

१२ चैत, चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा बुधबार एकैदिन २७ जनाले उपचार गराएका छन् ।

चैत ७ गतेदेखि सुरु भएको अस्पतालमा हालसम्म ८२ जनाले सेवा लिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चितवनका मेडिकल कलेज र नीजि अस्पतालहरुले बहिरंग सेवा बन्द गरेपछि कोरोना अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । सामान्य रुघाखोकी आएका बिरामी पनि निजी अस्पतालले उपचार नगर्दा कोरोना अस्पतालमा चाप परेको हो ।

कोरोना विशेष अस्पतालले कोरोनाको आशंकामा ११ जनाको आइसोलेसनमा राखेर उपचार गराइरहेको डा.अधिकारीले जानकारी दिए । कतार एयरवेजबाट चैत ४ गते नेपाल आएकी संक्रमित युवतीसँगै आएका चितवनका ६ मध्ये ५ जनालाई आइसोलेसनमा राखिएको छ ।

अस्पतालको सेवामा खटिएका पाँच जना स्वास्थ्यकर्मी र पाँच जना सेवाका लागि आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै अस्पतालले उपचारको क्रममा मिृत्यु भएका वीरगञ्जका सन्तोष यादवसहित ८ जनाको कोरोना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको डा.अधिकारीले बताए ।

यस्तै अस्पतालले उपचारमा संलग्नहरुका लागि आवश्यक सामग्री प्राप्त भएको जनाएको छ । डा. अधिकारीका अनुसार पाँच सय ७० थान पीपीइ र दुईसय २० वटा एन ९५ मास्क भरतपुर महानगरपालिकाले उपलब्ध गराएको छ ।

भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित अस्पतालमा ५० वटा साधारण बेड, १० वडा सघन कक्ष (आईसीयू) र १० बजेड एचडियु रहेका छन् ।

लकडाउन उल्लंघन गर्ने ३० जनालाई कारवाही २२३ सवारी नियन्त्रणमा

सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न जारी गरेको ‘लकडाउन’ लाई उल्लंघन गर्नेहरुलाई चितवन प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको छ ।

लकडाउनको दोस्रो दिन वुधबार सबैभन्दा धेरै सवारी साधन र व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मातहतका इकाइबाट २२३ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेको छ । प्रहरीले आज एकैदिन १८३ वटा मोटरसाइकल, स्कुटी २४, कार २, बलेरो २, म्याजिक १, अटो ६, ट्याक्टर ३ र ट्रक ६ वटा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यस्तै जबरजस्ती लकडाउन उल्लंघन गर्ने ३० जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले कारवाही गरेको छ । कारवाही भोग्नेमा २९ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई प्रशासनले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको छ । मंगलवार ७ जनालाई प्रशासनले कारवाही गरेको थियो ।

प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइ बुझाई गरी घर फर्काएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment