Comments Add Comment

कतार एयरबाट आएकी एक महिला तुलसीपुरको क्वारेन्टाइनमा, अर्की एकजना भेटिइनन्

रुकुम, रोल्पा र प्युठानमा विदेशबाट आएका शंकास्पद बिरामी

१३ चैत, दाङ । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको हवाईजहाज चढेर नेपाल आएकाहरुमध्ये एक जना दाङ जिल्लाको भएको खुलेको छ । उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ । उनमा अहिलेसम्म कोरोना संक्रमण भएको जस्तो लक्षण भने देखिएको छैन ।

‘उनी पश्चिम दाङकी महिला हुन्,’ दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काले अनलाइनखबरसँग भने, ‘हामीले पत्ता लगाएर अस्पतालको जिम्मा लगाएका छौं ।’

फ्रान्समा पढ्न गएकी र दोहा हुँदै यही चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएपछि उनीसँगै कतार एयरवेजको जहाजमा सवार अन्य यात्रुहरुको पनि खोजी सुरु गरिएको थियो । कतार एयरवेजको हवाईजहाज चढेर आएकाहरुको सूचीमा दाङका ओली र पन्त थरका दुई जना महिलाको नाम भेटिएको छ । तर, एक जनालाई भने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी खड्काले भने, ‘दुई जना भनिए पनि एक जना पत्ता लागेको छैन । उनी दाङकी होइनन् कि जस्तो छ  ।’

रुकुम, रोल्पा र प्युठानमा शंकास्पद बिरामी

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । तीनैजना विदेशबाट आएकाहरु हुन् । पहिलो संक्रमित चीनबाट आएका व्यक्तिमा देखिए पनि उनी उपचारपछि निको भएर घर फर्किइसकेका छन् । दोस्रो व्यक्ति फ्रान्सबाट आएकी १९ वर्षीया युवती हुन् भने तेस्रो व्यक्ति युएईबाट आएका धादिङका ३२ वर्षे पुरुष हुन् ।

विदेशबाट आएकाहरुमा कोरोना पुष्टि भएपछि गाउँघरमा विदेशबाट आएकाहरुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । रुकुम, रोल्पा र प्युठानमा यस्तै भएको छ ।

पश्चिम र पूर्वी रुकुममा कतारबाट आएका दुई जना व्यक्ति कोरोनाको जस्तै लक्षण देखिएको भन्दै अस्पताल भर्ना भएका छन् । तर, उनीहरुको नमूना संकलन हुन सकेको छैन । सुरक्षाका लागि स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको पोशाक पीपीई नभएपछि बिरामीको नमूना संकलन गर्न नसकिएको हो ।

रुकुमका लागि दाङमा पीपीई खोजी हुन थालेपछि बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालका लागि ल्याइएको केही थान पीपीई बुधबार रुकुम पठाइएको छ ।

नेकपा दाङका इञ्चार्ज जीवन गौतमले प्रदेशसभा सदस्य तेजबहादुर ओलीलाई पीपीई हस्तान्तरण गरेका थिए । ‘दाङमा पीपीई चाहियो भनेपछि मैले आफैं काठमाडौंबाट पीपीई बोकेर ल्याएको थिएँ,’ गौतमले भने, ‘त्यसैमध्येबाट केही थान रुकुम पठाइएको हो ।’

यसैगरी विदेशबाट आएका एक जना व्यक्तिलाई प्युठानको रातामाटामा क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको जस्तै लक्षण देखिएपछि उपचारका लागि रुपन्देही ल्याइएका प्युठानका एक जना बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रोल्पामा पनि एक जना व्यक्तिलाई उच्च ज्वरो आएपछि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल बुधबारबाटै सन्चालनमा आएको छ । तत्काललाई ३० शय्याको अस्पताललाई पछि १ सय शय्याको बनाउने तयारी रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश ५ का कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम)ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment