Comments Add Comment

‘लकडाउन’मा पनि नाट्य महोत्सव, घरमै बसेर हेर्न मिल्ने

विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लनगेका हुन् ।

कोरोनाको संक्रमणले ‘लकडाउन’ भएको समयमा पनि रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । उनका अनुसार यो महोत्सव भर्चुअल हुनेछ ।

केदार भन्छन्, ‘हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ गरिने छ । घरमै बसेर नाटक हेर्न र प्रतिक्रिया दिन सकिनेछ ।’ हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेजबाट लाइभ गरिने निर्देशक श्रेष्ठले बताए ।

सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येयले यस्तो महोत्सव गर्न लागिएको श्रेष्ठले बताए । यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्ने उनको विश्वास छ ।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ ।

महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको शुभकामना सन्देश पनि देखाइने छ । नाटक महोत्सवको सुरुवात ‘मान भर्सेस मती’ नाटकबाट गरिने छ ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए ।

उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ ।’ उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment