Comments Add Comment
यसरी खुल्दैछन् चिनियाँ नाका :

नेपाली चालकले चिनियाँ नागरिक र सामान छुनु नपर्ने

१३ चैत, काठमाडौं । नेपाल–चीन व्यापारिक नाका खोल्ने सरकारको निर्णयपछि रसुवा र सिन्धुपाल्चोक जिल्ला प्रसाशनले नाका सञ्चालन तयारी तीब्र बनाएको छ ।

केन्द्रको निर्णय आउन बाँँकी नै भए पनि रसुवागढी नाकाको व्यवस्थापन र रोग संक्रमणको जोखिम कम गर्न पूर्वतयारीका काम धेरै अघि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले अनलाइनखबरलाई बताए ।

तत्कालका लागि नाकाबाट माल वस्तु र सवारी आवागमन मात्रै सञ्चालन हुने प्रजिअ भण्डारीले जानकारी दिए ।

यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यगमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन काम थालिएको उनले बताए ।

‘वस्तु ढुवानी, चालकको सुरक्षा र व्यवस्थापन, क्वारेन्टाइन नियम लगायतलाई लिएर व्यवस्थापन मोडालिटी बनाउँदै छौँ,’ प्रजिअ भण्डारीले भने ।

उता तातोपानी नाका सञ्चालनका लागि जिल्लाबाट हुनुपर्ने व्यवस्थापनमा कुनै कमी नरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

‘तातोपानी नाकाबाट सुरक्षित निकासी पैठारीका लागि सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसहितको टोली तयार छ,’ प्रजिअ ढकालले अनलाइनखबरसँग भने ।

स्वास्थ्य टोली बढाइयो

हेल्थ असिस्टेन्टका भरमा रहेका दुबै नाकामा अहिले मेडिकल अफिसरको नेत्तृत्वमा टोली खटाइएको छ । रसुवागढी नाकामा दुई चिकित्सक, एकजना हेल्थ असिस्टेन्ट र एकजना नर्स तैनाथ गरिएको प्रजिअ भण्डारीले बताए ।

तातोपानी नाकामा पनि उपलब्ध उपकरणका साथमा स्वास्थ्य विभागले टोली खटाएको स्वास्थ्य टोली उपलब्ध भएको सिन्धुपाल्चोकका प्रजिअ ढकालले जानकारी दिए ।

चीनतर्फ ३० नेपाली चालक राख्ने प्रस्ताव

चीनबाट नेपाल भित्रिने वस्तु तथा चालकका कारण कोरोना संक्रमणको जोखिम दुबै देशमा नरहोस् भन्नका लागि रसुवा भन्सार र चिनियाँ अधिकारीको समन्वयमा विभिन्न प्रस्ताव अघि बढेका छन् ।

जसअनुसार पहिलो चरणमा नेपालले रसुवागढी भन्सार यार्डसम्म केरुङबाट सामान भित्र्याउन ३० जना नेपाली कन्टेनर चालक चीनतर्फ राख्नेगरी छलफल अघि बढेको रसुवाका प्रजिअ अर्जुन भण्डारीले बताए ।

यसो हुँदा चीनबाट नेपाल भित्रिने सामान पहिले भन्सार यार्डमा आइपुग्ने, त्यसलाई क्वारेन्टाइन विधिअनुसार स्वस्थता कायम गरिने र अर्कै सवारी चालकमार्फत नेपाली गन्तव्यमा पुर्‍याइनेछ ।

यसका लागि चीनको क्वरेन्टाइन नियममा स्वस्थ रहेका उक्त संख्यामा चालकहरु पारि राख्ने र उहाँहरुको जिम्मेवारी नेपालको भन्सारसम्म मालबाहक गाडी ल्याउने अनि रित्ता गाडी केरुङ लैजाने मात्रै हुने प्रजिअ भण्डारीको भनाइछ ।

‘केरुङबाट हाम्रो भन्सारसम्मको दुरी २४ किलोमिटर मात्रै छ, एकजना चालकले दिनमा तीन खेप गर्न सक्छन्’ उनले भने ।

यस्तो गर्दा चीनको स्वस्थ्य परीक्षणमा स्वस्थ रहेका चालक चीनतर्फ नै रहने छन् र उनीहरुले ल्याएका कन्टेनर निश्चित समय र स्वस्थता प्रक्रिया पछि अर्को चालकले नेपाल ल्याउने छन् ।

नेपाली नाकाबाट चीनतर्फको बजार पुग्न कम्तिमा तीनवटा ठाउँमा स्वस्थ्य जाँच गराउनुपर्ने र हरेक दिन नयाँ चालक पठाउँदा हुने झन्झट हटाउन यस्तो व्यवस्था गरिएको हो ।

चिनियाँ नागरिक र मालवस्तु नेपाली चालकले छुनु नपर्ने

रसुवा र तातोपानी दुवै नाकाबाट हुने आयातमा चीनतर्फ नेपाली चालकहरुले चिनियाँ नागरिक र मालवस्तुलाई नछुने गरी काम गर्ने तयारी गरिएको छ ।

नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुवै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई नछोई आवात–जावत गर्ने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

तातोपानी नाकामा अध्यागमन नहुने भएकाले यहाँबाट भने नेपाली चालकले नै हरेक दिन खासा पुगेर सामान ल्याउने, तर चिनियाँ नागरिक र मालवस्तुलाई लोडिङ चरणमा नछुने प्रवन्ध गरिएको छ ।

दुबै नाकामा सुरक्षाकर्मी, भन्सार, खाद्य तथा वनस्पति क्वरेन्टाइन र रसुवागढीतर्फ अध्यागमनको सबै तयारी चुस्त पारिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

आफ्नो भूमिमा कोरोना संक्रमण देखिएपछि चीनले लकडाउन नीति अन्तर्गत पुस १४ गतेदेखि बन्द गरेको नाका सम्भवतः शुक्रबार ९० औं दिनको दिन सञ्चालनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment