Comments Add Comment

लकडाउनमा पुरूष बढी अस्थिर देखिएका हुन् कि ?

लकडाउनलाई सकारात्मक रुपमा लिऔं, परिवारमा समय दिऔं

विगत तीन महिनाबाट शुरू भएको कोरोना भाइरस (कोभिड१९) ले महामारीको रूप लिएपछि अहिले नेपालमा लकडाउन शुरू भएको छ । महामारीका कारण लामो समय आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएपछि धेरैजसो मानिसहरु अस्थिर देखिएको बुझिन आएको छ । त्यसमा पनि महिलाभन्दा बढी अस्थिरता पुरूषहरूमा देखिएको हो कि भन्ने भान हुन्छ । यदि यस्तै अस्थिरता बढ्दै जाने हो भने मानसिक तनाव पनि नबढ्ला भन्न सकिन्न ।

आजकल के महिला, के पुरूष सबै आ–आफ्ना नोकरी, व्यवसायमा व्यस्त छन् । महिलाहरू पनि घरभित्र र घर बाहिरको दुबै काममा व्यस्त छन् । अन्यथा, हाम्रो परम्परागत रीति र अभ्यास त पुरूषहरू घर बाहिर काममा खटिने, कमाएर ल्याउने र महिलाले घरभित्र व्यवस्थापनमा समय दिने ।

अहिले परिस्थिति बदलिएकाले लकडाउनको समयमा पनि महिलालाई घरका साना–मसिना काम प्रशस्तै हुनेगर्छ भने महिलाको तुलनामा पुरूषहरूले घरभित्रको काममा त्यति चासो नदिने अर्थात् अभ्यस्त नहुने भएकाले उनीहरूलाई समय बिताउन असहज भएको स्वाभाविक मान्न सकिन्छ ।

यो लकडाउनको समयलाई उपयोगी र सहज बनाउन पुरूषहरूले पनि महिलाहरूसँगै सहकार्य गर्दै घरभित्र कसरी सहज तरिकाले समय बिताउने भन्ने अभ्यासमा ल्याउन सके उपयोगी हुनेछ ।

भान्छाको काममा सहयोग गर्ने

सामान्यतः भान्छाको काम महिलाले नै गर्ने हो भन्ने धारणा र अभ्यास धेरै घरहरूमा छ । श्रीमान श्रीमती नै जागिरे भए पनि यदाकदा बाहेक भान्छाको काम श्रीमतीले नै गर्नुपर्ने मान्यता छ । हुनत महिलाको खुबी नै हो घर बाहिरको काम, बच्चाबच्ची, घरको हेरचाह, सासूससुरा, वृद्ध आमाबाका लागि समय–समयमा खाना, खाजा, औषधि सबै महिलाले नै गर्दै आइरहेको प्रचलन यथावत छ ।

डा. नम्रता पाण्डे

कार्यालय जाने समयमा महिलाले यी सब कुराको व्यवस्था मिलाएर सहयोग गर्नु स्वाभाविक भए पनि लकडाउनको समयमा महिला– पुरूष दुवै मिलेर काम गर्दा समय गएको पत्तै हुँदैन ।

अर्कातिर, काम गर्दा धेरै कुरा सिक्ने अवसर पनि मिल्छ । आफ्नो पनि सहभागिता रहँदा त्यो कामप्रति जिम्मेवारी बढ्छ । घरभित्रको काम कति गाह्रो, सजिलो हुँदोरहेछ र समय कति लाग्दो रहेछ भन्ने पनि थाहा हुन्छ । मिलेर काम गर्दा प्रेम बढ्छ । एक–अर्कामा अरू सहयोगी भावना र धन्यवादको भावना पनि बढ्छ ।

जब हामी फुर्सदमा हुन्छौं र त्यतिबेला समय कसरी बिताउने भनेर सोच्ने अवस्था आउँछ, तब तनाव र अस्थिरता बढ्न सक्छ । भान्छाको सफाइ, खाना बनाउने काममा सहयोग या तरकारी केलाउने, पकाउनेजस्ता केही न केही काममा व्यस्त हुँदा अस्थिर हुने अवस्था नै आउँदैन ।

तरकारीमा नुन पुगेन, भात गीलो भयो, अचार ट्वाक्क भएन भनेर गुनासो गर्ने पुरूषलाई पनि आफूले भान्छामा सघाउँदा थाहा लाग्छ सिकायत कहाँबाट आउँछ ? सहयोगी भावले काम गरेपछि त्यो कुरा आफ्ना बच्चाबच्चीहरूले पनि सिक्छन् र उनीहरूमा पनि सहयोगी भावनाको विकास हुन्छ ।

योग, ध्यान र सङ्गीतमा परिवार नै सहभागी बन्ने

प्रायः घरमा महिलाहरू बिहानदेखि नै भान्छा लगायत घरको सरसफाई, करेसाबारी आदिमा व्यस्त हुने र पुरूषहरूले बिहानको हिँडाइ लगायत योग, ध्यान र संगीतमा समय दिने गरेको पाइन्छ ।

महिलाहरू घरको काममा व्यस्त हुनाले अरू शारीरिक अभ्यास आवश्यक नपरे पनि लकडाउनको समय फुर्सदको समय भएकाले र घरबाहिर हिँडडुल गर्न नमिल्ने अवस्था भएकाले श्रीमती, बच्चाबच्चीसहित सामान्य योगा गर्ने, योगपछि कुनै मनपर्ने सङ्गीत लगाएर मजाले नृत्य गर्ने अनि ध्यानमा बस्ने अभ्यास गर्दा एक अर्कामा सिक्ने र सिकाउने अवसर पनि मिल्छ ।

योग र नृत्यले शारीरिक अभ्यास हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ध्यानले मनलाई स्थिर र शान्त रहन सघाउ पुर्याउँछ । जब मनैदेखि स्थिर भइन्छ, तब शारीरिक र मानसिकरूपमा अस्थिर हुने मौका नै मिल्दैन ।

मानिसको जीवनमा देखिने सबै समस्याको समाधान ध्यान भएकाले पनि आफ्ना बच्चाबच्ची र श्रीमतीलाई पनि यो अभ्यासको अवसर जुराइदिनुपर्छ । ध्यान गर्ने बानी भएपछि नानीहरूमा पनि स्मरण शक्तिको विकास हुन्छ, करूणावान हुन्छन् । सकारात्मक सोचको विकास हुन्छ । अनि, आफ्नो नैतिकतामा रहने सूत्र प्राप्त गर्दछन् ।

स्वास्थ्य चर्चा गर्ने

कोरोनाले आक्रमण नगरोस् भनेर देश नै लकडाउनमा र हामी घरभित्र रहेको अवस्थामा आफ्नो स्वास्थ्यमा ख्याल पुर्याउनु पहिलो प्राथमिकता हो ।

बेलाबेलामा हात धुने कुरा बच्चाबच्ची र बृद्ध आमाबा हुनुहुन्छ भने उहाँहरूलाई पनि सम्झाइरहने र हात कसरी धुने देखाएर एक आपसमा भलाकुसारी पनि गर्ने । स्वस्थ र सन्तुलित खाना खाने, किन खाना मिठो मात्र नभएर स्वस्थ र सन्तुलित हुनुपर्छ सबैले सुन्ने र बुझ्नेगरी बताउने । यसो गर्दा एक आपसमा सिक्ने र सिकाउने भावनाको विकास हुन्छ ।

जतात्यतै भाइरसले आक्रमण गरिरहेका बेलामा माछामासुको बढी प्रयोग गर्नुभन्दा पनि सागपात, झोलिलो कुरा, रोटी, दालभात जस्ता पाच्य कुराहरूमा ध्यान दिनुपर्ने कुरा सबैलाई बुझाउने ।

उमालेर मनतातो भएको पानी प्रशस्त पिउने, दिनमा १/२ पटक कागती र अदुवासहित राखेर मनतातो पानी पिउनु राम्रो हुन्छ । बच्चाबच्ची र बृद्धहरूलाई खुवाउन गाह्रो हुन सक्छ, त्यसैले सम्झाई बुझाई सन्तुलित खानाको महत्वबारे बुझाउने गर्दा आफूलाई पनि समय कसरी कटाउने भनेर अस्थिर हुने अवस्था नै आउँदैन ।

यो लकडाउन हामीले चाहेर पनि फेरि नपाउने अवसर भएकाले आफ्ना परिवारसँग रमाइलो गर्नमै समय खर्चिंदा उपयुक्त हुनेछ । बृद्ध आमाबाको खुट्टा मालिस गरिदिने, नङ काटिदिने, नुहाइदिने, स्वास्थ्यका बारेमा सोध्ने, के खान मन लागेको छ सोध्ने र ढाडस दिने गर्दा उहाँहरुको मनमा पनि आनन्द मिल्छ

सन्तुलित आराम र निद्रा अपनाउने

लकडाउनको समय छ, घर बाहिर निस्केर काममा व्यस्त हुनु छैन । तर, यसको अर्थ दिनभर सुत्नु पनि होइन । दिनभर सुत्यो भने राति निद्रा नपर्न सक्छ । यसले गर्दा शारीरिक असन्तुलन सिर्जना हुन सक्छ । त्यसैले, कोठेबारी छ भने दिनमा एकछिन बगैंचामा डुल्ने, झारपात उखेल्ने, गोडमेल गर्ने, नानीहरूलाई पनि गोडमेल गर्न सिकाउने, फूलमा पानी दिन सिकाउने र कम्तिमा आधा घण्टा फूलबारीमै आफू र नानीहरू व्यस्त हुने समय छुट्याउने । फेरि, हातखुट्टा सफा गरी आराम गर्ने । कथा, कहानी सुन्ने र सुनाउने । नानीहरूका भावना बुझ्ने ।

स्कूलमा समय कसरी बिताउँथे, साथीहरूलाई कसरी सहयोग गर्थे आदि कुराहरू सोध्ने । उनीहरूलाई कथा, कविता, निबन्ध लेख्न लगाउने । जे आउँछ, जहाँबाट शुरू गर्न मन लाग्छ, त्यहीँबाट शुरू गर्न लगाउने । उनीहरूले चित्र बनाउँदा आफूले पनि सँगै बनाउने । हरेक क्रियाकलापमा बच्चाबच्ची जस्तै बनेर आफ्नो सहभागिता जनाउने र बेलाबेलामा आमालाई सहयोग गरौं भनेर आमाको छेउमा जाने ।

कुनै समय टीभी खोलेर परिवार सबै भएर हेर्न मिल्ने, हँसाउनेखालको कार्यक्रम या सिनेमा हेर्ने । यसले गर्दा बच्चाबच्ची पनि आफ्नो डिभाइस र आफ्नै कार्टुनमा मात्र व्यस्त हुन पाउँदैनन् ।

आजकल आमा-बादेखि लिएर बच्चाबच्ची सबै आफ्नै डिभाइसमा व्यस्त हुँदा एक–अर्काको भावना बुझ्ने समय नै नहुने र सबै एकोहोरो स्वभावको हुने गरेको पाइन्छ । जे क्रियाकलाप गर्दा पनि सबैजना सँगै सहभागी हुँदा एक–अर्कालाई धेरै समय दिन सकिन्छ र बच्चाबच्चीको ख्याल पनि आमाको मात्रै हो भन्ने भावना रहँदैन ।

दिनभर यस्तै काममा चलिरह्यो भने रातमा आनन्दको निद्रा आउँछ । हामीलाई परिश्रम, आराम र निद्रा सबै सन्तुलितरूपमा आवश्यक हुन्छ ।

लकडाउनलाई सकारात्मक रुपमा लिऔं

परिवारसँग रमाउन, परिवारसँगै बस्न समय नपाउनेहरूका लागि यो समय अमूल्य समय हो । हामी बाहिरै व्यस्त हुने हुँदा आफ्नो परिवारसँगको तादात्मय पनि छुटेको हुन सक्छ ।

सुन्नमा आउँछ कतिपय पुरूषहरू कामको शिलशिलामा धेरै समय बाहिरै हुँदा परिवारसँग रमाउन पनि जान्दैनन् । परिवारसँग आत्मीयता साट्न पनि जान्दैनन् । बृद्ध आमा-बा हुनुहुन्छ भने ती व्यस्त छोराहरूको अनुहार कतिका दिनसम्म देख्न पनि पाएका हुन्नन् ।

यो लकडाउन हामीले चाहेर पनि फेरि नपाउने अवसर भएकाले आफ्ना परिवारसँग रमाइलो गर्नमै समय खर्चिंदा उपयुक्त हुनेछ । बृद्ध आमाबाको खुट्टा मालिस गरिदिने, नङ काटिदिने, नुहाइदिने, स्वास्थ्यका बारेमा सोध्ने, के खान मन लागेको छ सोध्ने र ढाडस दिने गर्दा उहाँहरुको मनमा पनि आनन्द मिल्छ ।

यस्ता कुराहरू पनि के गर्न र सोध्न पर्छ र भन्ने लाग्न सक्छ तर होइन, बृद्ध, बच्चा र महिलालाई सधैँ यी कुराहरू पुर्याइदिएको भए पनि बेलामौकामा सोध्ने, बुझ्ने, प्रेम देखाउने गरेको मन पराउँछन् । ठूलो विषयवस्तु नभए पनि साना–ठूला सबै सदस्य मिलेर सरसल्लाह, भलाकुसारी, आफ्ना अनुभव साटासाट गर्दा आत्मीयता बढ्नुका साथै आफैंमा स्थिर, शान्त र प्रेमिल हुन मद्दत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment