Comments Add Comment

तिलोत्तमाले बनायो १ करोडको प्रकोप व्यवस्थापन कोष

१४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख थपेर एक करोडको कोष बनाइएको हो । उक्त कोषमा नगरप्रमुख वासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको सहयोगपछि प्रकोप व्यवस्थापन कोष एक करोडभन्दा माथि पुग्ने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए ।

कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment