Comments Add Comment

टेकु अस्पतालले भेटेन आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने विशेषज्ञ

कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट माग गरेकोमा एउटा पनि आवेदन परेन

१४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माग गरेको कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट पदमा शून्य आवेदन परेको छ । यद्यपि, अन्य ३ पद मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्समा भने माग गरिएभन्दा बढी आवेदन परेका छन् ।

सरुवा रोग केन्द्रले कोरोना भाइरसका संक्रमितको उपचारका लागि चैत ९ गते करार सेवाअन्तर्गत नवौं तहका ६ जना कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट माग गरेकोमा शून्य आवेदन परेको हो ।

सरुवा रोग अस्पतालका प्रशासन शाखा प्रमुख रुपनारायण खतिवडाले चैत ९ गते ५ दिनको समय दिएर दरखास्त आह्वान गरिएकोमा कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट पदमा कुनै पनि आवेदन नपरेको अनलाइनखबरलाई जानकारी दिए ।

एनेस्थेसियोलोजिस्ट आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति हो । कोरोना उपचारका लागि १९ वटा आईसीयू थपेर २० बनाउने तयारी गरिएपछि अस्पतालले त्यसको सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति करार सेवामा मागेको थियो । हाल अस्पतालसँग आईसीयू र भेन्टिलेटर सञ्चालनको विज्ञता हासिल गरेका एक जना मात्रै जनशक्ति छन् ।

कोरोना उपचारका लागि अत्यावश्यकीय जनशक्ति फेला नपरेपछि टेकु अस्पताल अन्योलमा परेको छ ।

टेकु अस्पतालका प्रशासन विभाग प्रमुख खतिवडा एनेस्थेसियोलोजिस्टका लागि पुनः आवेदन आह्वान नगर्ने बताउँछन् । जनशक्ति अभाव पूर्तिका लागि अन्य अस्पतालसँग समन्वय गर्ने विकल्प रहेकाले यसको उपयोग गर्ने उनी बताउँछन् ।

‘एनेस्थेसियोलोजिस्टका लागि गरिएको दरखास्त आह्वानमा कसैले पनि रुचि नदेखाएकाले हामी पुनः जनशक्ति माग गर्ने पक्षमा छैनौं,’ प्रशासन प्रमुख खतिवडाले अनलाइनखबरसँग भने, ‘अन्य अस्पतालहरूमा त्यस्ता जनशक्ति भएकाले यो विकल्प उपयोग गर्ने मनस्थितिमा छौं ।’ यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र मन्त्रालयका सचिवसँग कुरा भइसकेको उनले जानकारी दिए ।

अन्य पदमा भने उल्लेख्य दरखास्त

टेकु अस्पतालले मागेको अन्य पद मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्समा भने आवेदन परेको छ । आठौं तहको मेडिकल अधिकृतमा ८ जना माग गरिएकोमा ८ वटै दरखास्त परेको छ अन्य दुई पदमा पनि माग गरिएभन्दा बढी आवेदन परेको प्रशासन शाखा प्रमुख खतिवडाले जानकारी दिए । सातौं तहको नर्सिङ अधिकृत र पाँचौं तहको स्टाफ नर्सका लागि अस्पतालले क्रमशः ४ र २६ जना जनशक्ति माग गरेको थियो ।

आवेदन दिएका स्वास्थ्यकर्मीको अन्तर्वार्ता नलिई छनोट गर्ने तयारी अस्पतालले गरेको छ । अनुभव र आवेदन दर्ता सिरियलको आधारमा सम्झौताका लागि बोलाउने तयारी गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment