Comments Add Comment

वसन्त थापाको दिक्दारी: मन शान्त छैन, के संगीत सिर्जना गर्नु ?

सरकारले घोषणा गरेको लकडाउनलाई स्वीकार्दै गायक तथा संगीतकार वसन्त थापा अहिले सेल्फ क्वारेन्टाइनमा छन् । उनी घर बाहिर ननिस्किएको धेरै दिन भइसक्यो ।

घरमा बस्दा वसन्त निकै सचेत हुन्छन् । नियमित हात धुने, बच्चाले हात धोए–नधोएको विचार गर्ने, सेनिटाइजर लगाउने र लगाइदिने गर्छन् । बसन्त भन्छन्, ‘हामी आफैँ सचेत हुनुपर्ने समय हो यो । त्यसैले म सचेत छु ।’

संगीत सृजना गर्ने मान्छेहरुले एकान्त खोज्छन् । उनीहरुलाई शान्त वातावरण मन पर्छ । अहिलेले बसन्त घरभित्रै शान्त वातावरणमा छन् । तर संगीत सृजना गर्न भने जाँगर चलेको छैन उनलाई ।

वसन्त भन्छन, ‘बाहिरी वातावरण शान्त भएर के गर्नु, मन नै शान्त छैन । विश्वभर यस्तो आतंक मच्चिरहेको समयमा मलाई संगीत सृजना गरेर बस्ने जाँगर कसरी आउँछ र ?  त्यसैले म सिर्जनातिर लागेको छैन ।’

वसन्तको लागि दिन काट्ने आधार चलचित्र, गीत–संगीत र पुस्तक हुन् । उनले मन लागेको चलचित्रहरु खोजी–खोजी हेरिरहेका छन् । आफ्नो रुचीका गीत सुनिरहेका छन् । वसन्त भन्छन्, ‘चलचित्र र संगीत त खोजी–खोजी हेरेको छु । पुस्तक चाहिँ विजयकुमारको ‘खुसी’ पढिरहेको छु ।’

वसन्त सामाजिक संजालमा पनि सकृय छन् । उनी खासगरि कोरोना कसरी सुरु भयो ? किन यति भयानक भयो ? भन्ने खालका सामग्रीहरु नै पढ्छन् । यसैमा उनको ध्यान खिचिएको छ ।

‘कोरोनाको बारेमा पढ्दा–पढ्दा वाक्क हुन्छु । अनि यसमा अल्झेर हुन्न भनेर पढ्न छोड्छु,’ उनले सुनाए ।

कोरोनाको विषयमा पढ्दै गर्दा उनलाई मनमा शंका लागेको छ, ‘कतै यो ठुला भनिएका देशहरु बीचमा भएको द्वन्द्वको परिणाम त होइन ?  द्वन्द्वकै लागि भाइरस तयार गरिएको त होइन ?’

अन्तिममा निस्कर्ष निकाल्छन्,  ‘नेपाल यसै गरिव थियो, झनै गरिव हुने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment