Comments Add Comment

तिलोत्तमाले बांँड्यो विपन्न परिवारलाई खाद्यान्न

१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो ।

शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी चामल, २ केजी दाल र एक केजी नुन वितरण गरेको छ । शुक्रबार करिब एक सय विपन्न घरपरिवारलाई खाद्यान्न उपलब्ध गराइएको र यसले दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे ।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि वितरण गर्न थालेका हौं,’ नगर प्रमुख घिमिरेले भने, ‘सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ।’ घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका ईन्द्र थापाले संकटका बेलामा नगरपालिकाले सरकार भएको महसुस दिलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment