+
+
Shares

नागरिक लगानी कोषलाई गतिशील बनाउन ऐन संशोधन आवश्यक : सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता, आन्तरिक सुशासन र पुँजी परिचालनबारे प्रतिनिधि सभामा प्रश्न उठाए ।
  • उनले कोषको झन्डै ४९ प्रतिशत रकम बैंकमा स्थिर निक्षेपमा रहेको भन्दै उत्पादनशील क्षेत्रमा लगानी खोज्नुपर्ने बताए ।
  • बरालले नागरिक लगानी कोषलाई आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्ने तथा ऐन संशोधनमा वित्तीय हितलाई केन्द्रमा राख्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।

७ असोज, काठमाडौं । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले प्रश्न उठाएका हुन् ।

विधेयकले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सांसद बरालले ३५ वर्षको इतिहास बोकेको नागरिक लगानी कोषले अबका दिनमा आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

‘हाल कोषको झन्डै ४९ प्रतिशत रकम बैंकमा स्थिर निक्षेपका रूपमा छ, जुन चिन्ताको विषय हो । उत्पादनशील क्षेत्रमा लगानी खोज्नु आजको प्रमुख आवश्यकता हो,’ सांसद बरालले भने ।

छलफलका क्रममा कोषको आन्तरिक सुशासन र निर्णय प्रक्रियाको गतिमाथि समेत प्रश्न उठाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै सांसद बरालले कोषको कार्यशैलीमा देखिएका अस्पष्टता र ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कोषको जनशक्तिलाई प्रविधिमैत्री बनाउनुपर्ने र जोखिम न्युनिकरणका आधुनिक औजारहरूको उचित प्रयोग आवश्यक रहेको उनको सुझाव छ ।

सांसद बरालले तीन अर्बभन्दा बढी पुँजी परिचालनको क्षमता राख्ने यो संस्थाको वित्तीय हितलाई केन्द्रमा राखेर ऐन संशोधन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?