१४ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ ।
लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गरेको हो ।
शुक्रबार करिब एक सय विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । विपन्न परिवारलाई १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्याइदिने नगरपालिकाको निर्णय छ ।
‘नगरका १७ वटै वडामा गरी करिब आठ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि वितरण गर्न थालेका हौं’, नगर प्रमुख घिमिरेले भने, ‘सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पुर्याइदिने छ ।’
तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग/धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4