१४ चैत, काठमाडौं । फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका छन् ।
अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन ।
सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै त्यसलाई न्युनीकरण गर्ने गरी ढुवानी गरेमात्रै फोहोर फाल्न दिने अडान राखेका छन् ।
काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीयको माग अनुसार आठ ठाउँमा हात धुने प्रयोजनमा लागि ट्यांकी राखिएको बताए । ती ठाउँमा सावुन पानी र मास्कसमेत वितरण गरिएको उनले बताएका छन् ।
तर स्थानीयले बिहान ८ बजेभित्र फोहोर खन्याएर गाडी फर्किसक्नुपर्ने माग राखेका छन् । ‘ल्यान्डफिल्डसाइटमा लाइटिङको व्यवस्था छैन, बाटोको अवस्था पनि राति लोड लिएर जान सकिने खालको छैन,’ उनले भने, ‘स्थानीयले राख्नुभएको सर्तले प्राविधिक अप्ठेरो परेको छ ।’
स्थानीय वासिन्दाले ट्यांकीमा पानी पनि महानगरपालिकाले नै हाल्नुपर्ने माग गरेका छन् । ‘शहरी भेगको सडकमा फोहोर थुप्रिन थालिसके, त्यसैले नउठाई त सुखै छैन’ उनले भने, ‘दुई दिन उहाँहरुको मागअनुसारको धेरै प्रबन्ध गरेका छौं, विश्वास छ कि भोलि बिहानबाट फोहोर लिएर जान पाइन्छ ।’
उनले काठमाडौंका वासिन्दालाई फोहोर घरभित्रै राख्न आग्रह गरे । संक्रामक रोगको समय भएकाले सडकमा फोहोर फाल्दा संक्रमण अझै सामुदायिक स्तरमा फैलिने खतरा भएकाले सकेसम्म फोहोरको गाडी आएपछि मात्रै फोहोर व्यवस्थापन गर्न उनले आग्रह गरे ।
सिसडोलमा स्थानीयले अझै विरोध जारी राखे प्रशासनकै सहयोग लिएर फोहोर व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि महानगरपालिकाले शुक्रबार गृह मन्त्रालयसँग छलफल समेत गरेको छ ।
गृह मन्त्रालयले सवारी र चालकहरुको सुरक्षाको प्रत्याभूति दिँदै बिहानैबाट फोहोर विर्सजनको काम थाल्न महानगरपालिकालाई सुझाव दिएको छ । महानगरपालिकाले पनि भोलिबाट सडकको फोहोर उठाउन सुरु गर्ने बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
‘देशमा समस्या पर्दा जहिले पनि सिसडोलमा आन्दोलन भइहाल्छ, सकेसम्म सबैले मिलेर यो संकटलाई टार्ने हो,’ विभागीय प्रमुख श्रेष्ठले भने, ‘आशा छ, यो पटक ओखरपौवाको सिसडोलमा हामीलाई योभन्दा बढी अवरोध सिर्जना गरिने छैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4