
१४ चैत, चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको उपचार व्यवस्थापन गर्न चितवनमा प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
समितिको नाम ‘कोरोना रोगविरुद्ध जिल्ला समन्वय समिति’ दिइएको छ । समितिले जिल्लाका सबै स्वास्थ्य संस्था, चिकित्सक, स्थानीय तह, विभिन्न पेशागत तथा व्यवसायिक संघसंस्थासँग समन्वय गर्ने संयोजक सुवेदीले बताए ।
संयोजक सुवेदीका अनुसार समितिले प्रकोप व्यवस्थापन, उपचार र जिल्लामा कोरोना भाइरसका सम्भावित संक्रमितहरुको लागि निदान गर्न ल्याब स्थापनाको पहल गर्नेछ ।
समितिमा जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख, दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पतालका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघका अध्यक्षसहित विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरुलाई राखिएको छ ।
प्रतिक्रिया 4