Comments Add Comment

प्रधानसेनापति थापाले भने – कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुस्

१५ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् ।

थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च सेवाभाव देखाउन’ पनि भनेका छन् । थापाले भनेका छन्, ‘सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौति दुवै हो । बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुस् ।’

संकेटको घडीमा संयम र धैर्यता देखाउन पनि उनले भनेका छन् । ‘कठिन समय केही समयका लागि मात्रै हो, सदैव ख्याल राख्नुस्’, थापाले निर्देशन दिएका छन्, ‘सबै नागरिकप्रति सदैव सहयोगको भावना राख्नुस् । सैनिक सेवाको मर्यादा र धर्म आफूले राम्ररी बुझेर सहकर्मीहरुलाई पनि बुझाउनुस् ।’ बोली र व्यवहारले मात्र पनि अरुको सोचमा परिवर्तन ल्याउन सक्ने जनाउँदै थापाले आ–आफ्नो दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्न पनि भनेका छन् ।

सकलदर्जालाई उनले विसञ्चो भए घर वा व्यारेकमा बस्न भनेका छन्, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आइसोलेसनमा राख्न भनेका छन् । ‘आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, विरामीले पनि निको भएको अनुभव गर्दछन्’, थापा भन्छन्, ‘नेपाली नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्नुस् ।’

उनले संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफू जोगिन पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment