Comments Add Comment

कोरोना संक्रमित युवतीसँगै विमानमा आएका चितवनका ५ जनाको रिपोर्ट नेगेटिभ

१५ चैत, चितवन । कोरोना संक्रमित नेपाली युवतीसँगै कतार एयरवेजमा यात्रा गरेका चितवनका ५ जनाको कोरोना संक्रमण नभएको पाइएको छ ।

कोरोना अस्पतालको आइसोलेसन बार्डमा भर्ना भएका उनीहरुको शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण नभएको पाइएको भरतपुर कोरोना अस्पतालका प्रवक्ता एवम् सदस्य सचिव डा. भोजराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

चैत ४ गते कतार एयरवेजको क्यू आर ६५२ उडानबाट काठमाडौं आएकी एक युवतीमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि त्यसै विमानमा आएका चितवनका ५ जनालाई भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो ।

तर उनीहरुमा कोरोना संक्रमण पुष्टि नभएको हो ।

ती ५ जनासँगै अन्य ६ जनाको पनि कोरोना संक्रमण परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ती कसैमा पनि संक्रमण नभएको पाइएको अधिकारीले बताए ।

रिपोर्ट नेगेटिभ आएपछि ती सबैलाई होम क्वारेन्टाइनमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गरिएको डा. अधिकारीले जानकारी दिए ।

शनिबार भरतपुरबाट थप चार जनाको नमूना काठमाडौं पठाइएको छ । अहिले चार जना मात्रैं आइसोलेसन वार्डमा रहेका छन् । शनिवार १९ जना ज्वरो तथा रुघाखोकीका बिरामीले अस्पतालमा आएका थिए ।

अस्पतालबाट अहिलेसम्म २४ जनाको स्वाब परीक्षणका लागि पठाइएको र ती मध्ये २० जनाको नेगेटिभ आएको छ, चार जनाको नतिजा आउन बाँकी छ ।

५५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । १४ जना स्वास्थ्यकर्मीलाई होटलमा क्वारेन्टाइनमा राखिएको डा. अधिकारीले जानकारी दिए । चैत ७ गतेबाट सञ्चालनमा आएको भरतपुर कोरोना अस्पतालबाट शनिबारसम्म १६३ जना बिरामी जाँचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment