Comments Add Comment

क्वारेन्टाइनमा छु, घरको याद आइरहेको छ : बक्सर दीपक श्रेष्ठ

१६ चैत, काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन आज छ दिन पुग्यो ।

लकडाउनका बेला अस्पताल जान र अत्‍यावश्यक सामग्री खरिद गर्नबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । लामो समयसम्म घरबाहिर निस्कन नपाएको धेरैका लागि यो नयाँ अनुभव हो ।

झन् मैदानमा खेलिरहने, विभिन्न प्रतियोगिता खेल्न र प्रशिक्षणका लागि देश विदेश गइरहनुपर्ने खेलाडीहरुको लागि त अझै नयाँ हो । सधैँ खेल्ने खेलाडीलाई घरमै मात्र बस्दा कस्तो अनुभव होला । लकडानका बेला घरमै क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । यसै सन्दर्भमा नेपाली सेनामा कार्यरत राष्ट्रिय बक्सिङ खेलाडी दीपक श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंश:

म राष्ट्रिय बक्सिङ खेलाडी हुँ । एसियन गेम्समा पनि खेलिसकेको छु । घरेलु भूमिमा १३ औं सागमा समेत प्रतिस्पर्धा गरेको थिएँ । हामी खेलाडी खेल खेलिरहनुपर्ने, अभ्यास गरिरहनुपर्ने अवस्थामा अहिले लकडाउन भएर बसेका छौँ । विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीको कारण अहिले नसोचेको अवस्था आइपरेको छ । मेरो घर धादिङ जिल्ला गंगाजमुना गाउँपालिका बुढाथुम हो । आमा, श्रीमती, भाउजु, नानीबाबुहरु सबै घरमै छन् । म घरबाट टाढा छु ।

मलगायत त्रिभुवन आर्मी क्लबका करिब १० खेलाडी इलामको गढिथुम्कास्थित पशुपतिप्रसाद गणमा हामी छौँ । यहाँ चार सय जना सैनिक छन् ।

हामी सरकारले लकडाउन घोषणा गर्नुअघि चैत १० गते यहाँ आएका हौं । यहाँ हामी काठमाडौंबाट आएकाहरुको स्वास्थ्य जाँच भयो । त्यसपछि २ साताको लागि क्वारेन्टाइनमा राखिएको छ ।

अहिले यो समयमा हामीलाई तोकिएको स्थान भन्दा बाहिर जान नपाउने भन्ने निर्देशन छ । हामी त्यही नियम पालना गरिरहेका छौँ । खेलाडी भएकाले क्वारेन्टाइनमा हुँदा पनि हामी अभ्यास गरिरहेका छौं ।  मैले पनि आफूलाई फिट राख्न प्रयास गरिरहेको छु । खेलाडी भएकोले आफूलाई अपडेट राख्न पनि आफैं अभ्यास गरिरहेको छु ।

यस्तो समयमा घर परिवारबाट टाढा भएर बस्नुपर्दा अलि अत्यास लागेजस्तो भइरहेको छ । अनि परिवारलाई कस्तो भएको होला भन्ने लागेको छ । घर परिवारमा के हुने होला भन्ने डर त्रास पनि छँदै छ । आफैँलाई पनि असहज महसुस भएको छ, कतै जान पाइरहेको छैन । कहिलेकाहीँ नेटवर्क समस्याले गर्दा घर परिवारमा फोन सम्पर्क हुँदैन । त्यस्तो बेलामा एकदमै तनाव हुन्छ ।

विश्वरभर नै अहिले कोरोना भाइरस महामारीको रुपमा फैलिएको छ । यसले मानव जीवनमा ठूलो त्रास ल्याएको छ । नेपालमा पनि यसको असर आइसकेको छ । जसले गर्दा नेपाल सरकारले अहिले जुन कदम चालेको छ त्यो सह्राहनीय छ । देश केही दिनयता लकडाउनमा छ ।

हरेक ठाउँमा मानिसलाई सुरक्षित रहनको लागि सूचना सन्देश दिने काम भइरहेको छ । यो एकदमै राम्रो काम हो । मलाई लाग्छ सरकारले यो समयमा राम्रो काम गरेको छ । सरकारले नियम ल्याएको छ अब हामी सबैले यसलाई पालना गर्नुपर्छ । नत्र नेपालमा कोरोनाले विकराल रुप लिन सक्छ ।

सबै मानिस आफू सुरक्षित र सतर्क रहनुपर्छ । इटली जस्तो विकसित देशमा जनता आफैँले गर्दा अवस्था भयावह छ । सबैले सरकारले भनेको नियम पालना गर्नुपर्छ । आफूले आफैंलाई कन्ट्रोल गर्नुहोस् । घरबाट बाहिर ननिस्कनुस्, भीडभाडमा नजानुस् । साबुन पानीले समय समयमा हात धुनुहोस् । स्यानिटाइजर प्रयोग गर्नुस् ।

लकडाउनले सबैलाई असर त गरेको छ । तर अहिले हामी दु:खसुख गरेर भए पनि कोरोना भाइरसबाट बच्नलाई सहनुपर्छ । परिवारसंग रमाइलो गरेर संगै बस्नुहोस् । सबैले सावधानी अपनाउनुपर्छ । यसो भयो भने हामी सुरक्षित हुन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment