Comments Add Comment

पेड्रो भन्छन्- अब खेलमा फर्कंदा केही समय प्रि-सिजन चाहिन्छ

१६ चैत, काठमाडौं । चेल्सीका फरवार्ड पेड्रोले कोरोना भाइरस महामारीपछि प्रिमियर लिग सुरु हुँदा त्यसमा एडजस्ट हुन केही समय खेलाडीलाई प्रि-सिजन चाहिने बताएका छन् ।

कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण इंग्ल्याण्ड प्रिमियर लिगसहित व्यवसायिक फुटबल अप्रिल ३० सम्मलाई स्थगित गरिएको छ । फुटबल एसोसिएसन (एफए) २०१९-२० सिजनलाई अझै लम्ब्याउन सहमत छ ।

पेड्रोले अहिले घरमा ट्रेनिङ गरेपनि त्यो फरक रहेको बताए । ‘तपाई घरमै कडा ट्रेन गर्न सक्नुहुन्छ । तर, उच्च लेवलमा भएको रिदम जस्तो त्यो हुँदैन’ ३२ वर्षीय पेड्रोले भने ।

कोरोनाको कारण प्रिमियर लिग सुरुमा अप्रिल ३ सम्मको लागि मात्र स्थगित थियो । तर, महामारीको रुपमा फैलिन थालेपछि अप्रिल अन्त्यसम्म स्थगित गरिएको छ । अहिले त बेलायत सरकारले लकडाउन नै गरेको छ ।

यसले गर्दा इंग्लिस फुटबल सिजन अझै पछि सर्ने भएको छ । स्पानिस खेलाडी पेड्रोले यो स्थगनले के असर गर्छ आफूहरुलाई थाहा नरहेको बताएका छन् । ‘धेरै दिनदेखि धेरै क्लबहरु फुटबलबाट टाढा छन् । त्यसैले म्याचको लागि फिट हुन गाह्रो हुनेछ’ पेड्रोले भने ।

‘मेरो विचारमा छोटो समयमको प्रि-सिजन भयो भने हामी बाँकी सिजनका लागि तयार हुने थियौं । तर, यो सम्भव हुन धेरै विषय मिल्नुपर्छ’  उनले भनेका छन् ।

वेस्टह्याम युनाइटेडका उपप्रमुख बारोनस कारेन ब्राडीले पनि प्रिमियर लिग सक्न जुलाईसम्म खेल खेलाउनुपर्ने बताएका छन् । एफएले यसअघि नै ननलिग फुटबल रद्द गरिसकेको छ ।

सन् २०१५ मा स्पानिस क्लब बार्सिलोनाबाट चेल्सी पुगेका पेड्रो अहिले लकडाउनको बेला पनि बेलायतमै छन् । उनको परिवार स्पेनमै छ । उनले आफ्नो बच्चा, अभिभावक र दाजुभाइलाई नजिक नदेख्दा कठिन हुने बताए । यद्यपि फोनबाट एक आपसमा कुराकानी गरिरहेको उनले बताए ।

यस्तै, पेड्रोले आफ्नो सम्झौता नवीकरणबारे चेल्सीसँग कुरा गर्न बाँकी नै रहेको बताए । उनले आफू चेल्सीमा रहेको र आफ्नो इच्छा त्यहीँ रहने रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment