Comments Add Comment

लकडाउन बढाउँदा ‘फोर टी’ को सिंढी

सरकारले कोरोनाको संक्रमणबाट बच्नको लागि एक सातासम्म लकडाउन गरेको छ । संसारका एकतिहाई मानिस कोरोनाविरुद्ध लकडाउनमा छन् । यसको मतलब मानिस सकेसम्म घरभित्रै बस्ने, अरु मानिसको सम्पर्कमा नजाने नै हो । आफूमात्रै होइन, सिङ्गै परिवार र आफन्तलाई समेत यसका लागि प्रेरित गर्ने हो ।

यसबीचमा पनि केही समयको अन्तरमा साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, मास्क सकभर नछाड्ने जस्ता कार्यभने बिर्सनुहुँदैन । कोरोना भाइरस संक्रमण बढ्ने सम्भावना चुलिँदै जाँदा सरकारले गरेको यो निर्णय यतिबेला अत्यन्तै आवश्यक थियो । त्यसैले यो सरकारी निर्णयलाई सुझबुझपूर्ण मानिएको छ । सबै नागरिकले सरकारको यस निर्णयलाई साथ दिए, र दिनुपर्छ । संकटको यो घडीमा सुरक्षित रहनका लागि घरमा बस्नैपर्ने हुन्छ ।

सरकारले एक हप्ताका लागि गरेको लकडाउन १८ गते बिहान ६ बजे सकिँदैछ । आम मानिसमा एउटा कौतुहल छाएको छ । अब लकडाउन सकिन्छ कि थपिन्छ ? यो चासो जायज हो । यहाँ कोरोनाका केही पक्षहरु हेरौं ।

कोरोना संक्रमितका लक्षणबाट खुट्याउन एकदेखि १४ दिन लाग्ने गरेको छ । उस्तै, लक्षण भएका अन्य रोग हुने हुनाले कोरोना कि त ‘टेस्ट’ बाटै पत्ता लगाउनुपर्ने हुन्छ कि त समयवधि पर्खिनुपर्ने हुन्छ । यो सरकार वा जनता दुबैको बाध्यता हो ।

लकडाउन हुनुपहिले र भएपछि पनि नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् । कोरोना लाग्दा कुनै घाउ वा खत हुँदैन । सबै स्वस्थ देखिन्छ । त्यसैले कमसेकम तपाईं हामीमध्य कोही संक्रमित छौं कि भन्ने जान्न पनि १४ दिन त पर्खनै पर्ने हुन्छ । यसबारे पत्ता लगाउने काम आफैंमा असजिलो छ । तर, ज्यान जोगाउनको लागि यी काम अनिवार्य गर्नै पर्ने देखिन्छ ।

दोश्रो, हामीले आफैंलाई बिस्तारै आफ्नो घरमा सुरक्षित राख्न थालेका छौं। कोरोना हिँडेर हाम्रो घर आइपुग्दैन । त्यसलाई लिन हामी घर बाहिर जान छाडेका छौं । काम, शिक्षा वा अन्य कारणले बाह्य मुलुकमा गएर फर्केका हाम्रा आफ्ना आफन्तहरुसँग भेटेको पनि बल्ल हप्तादिन भयो । हाम्रा मानिस जहाँ भएपनि चनाखा नै हुन्छन् । यद्यपि कोरोना भाइरस देख्न नसकिने स्वास्थ्य समस्या भएको हुनाले पनि कोही कसैमार्फत् यो भाइरस सरेको रहेछ भने पनि यो दुई साता पछि मात्रै पत्ता लाग्न पनि सक्छ ।

जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकमा तीन सातासम्म निरन्तर लकडाउन गर्नुको विकल्प नरहेको सुझाव दिएका छन् । लकडाउनमा घरमै रहनु आफूसँगै परिवार, समाज र मुलुकलाई सम्भावित संक्रमणबाट जोगाउने उत्तम र सुरक्षित उपाय हो ।

हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न सरकारलाई विज्ञहरुले सुझाएको बुझिन्छ । अर्कोतिर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लकडाउनसँगै सामाजिक व्यक्तिगत दुरी कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आएको छ । नियमित साबुन पानीले हात धुनु र अन्य व्यक्तिसँग एकदेखि दुई मिटरसम्मको दुरी भाइरसविरूद्धको युद्धमा प्रभावकारी हतियारको रुपमा मान्ने गरिएको छ ।

यता सरकारले यो महासंकट पश्चात् आइसोलेसन वार्ड, डेडिकेटेड हस्पिटल, पीपीईको व्यवस्था गर्दैछ । जुन तपाईं हामी र हाम्रा लागि हो । छिमेकी मुलुक चीनबाट सहयोग सामग्री आउँदैछन् । अर्कोतिर संक्रमितको संख्या पनि थपिँदै गएको छ । जसले गर्दा यो लकडाउनको समय थप्नुपर्ने टड्कारो आवश्यकता देखिँदै गएको छ ।

यो सरकारले जनतालाई सास्ती दिन होइन बरु जनताको जीवन रक्षार्थ हो भनेर बुझ्नुपर्ने समय आएको छ। त्यसैले अब लकडाउन गर्दा अर्को पटक थप्न नपर्नेगरी थप्नु बुद्धिमानी हुनेछ ।

हामीले यो पहिलो लकडाउनका समय मा ‘४ वटा टी’ (4-T) बारे सोच्यौं । जसले सरकार र हामी आम मानिसलाई काम गर्न सजिलो होस् र भाइरस फैलिनबाट रोकियोस् ।

पहिलो ‘टी’ TURMOIL

हो, यो समय अत्यन्तै द्विविधा, अन्योल र अनिश्चितताको समय थियो । एक्कासी भएको लकडाउन पश्चात हामी सबै अन्योलमा परेको देखियो । जसको कारण ‘सेन्ट्रल प्रोटोकल’ मै अल्मल देखिएको हो । दुनियाँको अनुभवले के देखाउँछ भने कुनैपनि महामारीको नियन्त्रण र रोकथाममा मेडिकलभन्दा धेरै गुना ननमेडिकल इन्टरभेन्सनस प्रभावकारी भएका छन्। यस्ता महामारी फैलिन नदिने पहिलो स्टेज त हामी थाहा नपाई अथवा लापरवाही गरेर गुमायौ।

संक्रमितले बाहिर संक्रमित देशबाटै आएर यस्तो भाइरस फैलाउने हो। हाम्रो सावधानी भएन। जसले गर्दा संक्रमण जहाज चढेर आयो । अब जति सक्यो छिटो संक्रमितसँग भेटिएका मानिसहरुलाई संक्रमितमार्फत् नै  पहिचान गरिहाल्नुपर्ने भएको छ । त्यस्ता व्यक्तिहरुलाई जतिसक्दो चाँडो आईसोलेसनमा राखेर ‘स्क्यानिङ’ गर्नु आवश्यक छ।

दोश्रो ‘टी’ TRACE

पहिलो चरणको लकडाउनले मानिसलाई आ-आफ्नो निवासमा पुर्‍याएको छ । अब सरकारका निकाय वा स्वयंसेवकमार्फत् हवाई वा स्थलमार्गबाट स्वदेश फर्किएका नागरिकहरुको पहिचान गर्न ढिला गर्नुभएन । त्यसैले स्थानीय सरकार र वडाहरुलाई एउटा मापदण्डमा त्यस्ता व्यक्तिको संख्या, उनीहरुको सम्पर्कमा गएका व्यक्तीहरुको अभिलेख राख्दै समूहबाट आइसोलेट गर्न कुनैदिन खेर फाल्नुहुन्न ।

त्यसपछि हुने उनीहरुको जाँच र रिपोर्टले कति संख्यामा अस्पताल चाहिने हो, कति जनशक्ति चाहिने र कसरी व्यवस्थापन गर्ने भन्ने निचोडमा पुग्न सरकारलाई मार्ग चित्र प्रशस्त गर्नेछ ।

तेस्रो ‘टी’ TEST

अभिलेख जम्मा गर्दासम्म संक्रमितहरुलाई आफैं अस्पतालसम्म आउन हौसला मिल्ने गर्छ । त्यसका लागि आइसोलेसनमा राखिएका वा आफैं अस्पतालसम्म पुगेका बिरामीको परीक्षण जतिसक्दो चाँडो गर्न सरकारले ‘टेस्टिङ मेकानिजम’ दुरुस्त राख्नैपर्छ । त्यसो भयो भने पदमा हुन्ज्याल केही नगर्ने, कमिसन हेर्ने र पद छाडेपछि स्वघोषित विज्ञ बनेर अर्‍याउने मौका कसैले पाउने छैन ।

चौथो ‘टी’ TREAT

यतिञ्जेल पत्ता लागेका वा उपचार खोज्न आएका नागरिकको संख्या  एकिन हुनेछ । अस्पतालको क्षमता, स्वास्थ्यकर्मी र ल्याबको उपलब्धता आदिले ती आइसोलेसनमा भएका बिरामीको उपचारको तरिका र समय निर्धारण गर्नेछ । आशा गरौं, हामीलाई धेरै नागरिकको उपचार गर्न नपरोस्।

अब के गर्ने ?

फेरिपनि आम नागरिक घरैमा बस्ने नै हो । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा आवश्यक भएको अवस्थामा स्वयंसेवक बाहेक अरु मानिस घरैमा बस्नु नै फेरि पनि कोरोना परास्त गर्ने अचुक औषधि हो । हामी भाइरसलाई घरमा नलैजाने प्रण र प्रतिबद्दतामा अटल रहनु नै संसारभरी फैलिएको यो महामारीबाट आफू र आफन्तलाई जोगाउनु हो । ती सडक त्यहीँ नै रहनेछन्। ती तपाईंले काम गर्ने सेवा दिने वा सेवा लिने सबै उस्तै रहनेछन् ।

कोरोना नियन्त्रणको औषधि बन्न अझै समय लाग्ने

अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसको भ्याक्सिनलाई बल्ल ‘क्लिनिकल ट्रायल’मा पठाउँदैछ । यसले दिने नतिजा आउन समय लाग्ने नै छ । यद्यपि संसारका अरु देशहरु पनि भ्याक्सिनको आविष्कार गर्न तल्लीन छन् । तर, त्यो भ्याक्सिन आउनुभन्दा पहिले हामीले कोरोना जित्ने भनेको घरैबाट हो । त्यसैले घरैमा बसौं ।

शान्त र धैर्यतालाई सार दिने सन्देशयुक्त महाभारतको एउटा प्रसङ्ग जोडौं ।

द्रोणाचार्यलाई छल गरेर पाण्डवहरुले मारेपछि अश्वत्थामा क्रोधित थिए । उनले पाण्डव सेना माथि ‘नारायण अस्त्र’ प्रहार गर्ने निधो गरे । नारायण अस्त्र प्रहार भएपछि युद्धमा हतियार बोकेका प्रतिपक्षी योद्दामाथि अग्निवर्षा भएर युद्ध मैदानमै भष्म हुन्थे । तर, हातमा हतियार नहुनेलाई भने यसले छुँदैनथ्यो ।

भगवान् श्रीकृष्णले यो कुरा थाहा पाएर पाण्डव पक्षका सम्पूर्ण सेनाहरुलाई आफ्ना सबै अस्त्र-शस्त्र जमिनमा फालेर प्रार्थनारत रहन निर्देशन दिए । अश्वत्थामाले ‘नारायण अस्त्र’ छोडे । तर, त्यसले भस्म पार्ने प्रतिपक्षको युद्दरत एक सैनिक पनि फेला पार्न सकेन । समय सकिएपछि उक्त अस्त्र निष्कृय भयो र युद्द मैदान शान्त देखियो, पाण्डव सेना सबै जीवित रहे ।

भन्न खोजिएको के हो भने युद्ध मैदानमा त शान्त बस्दा युद्धमा बाँचिदो रहेछ भने यो महामारीबाट हामी शान्तिपूर्वक घरमै बसौं । नारायण अस्त्र निष्क्रिय भए झैं कोरोना भाइरस पनि एउटा समयावधि पछि शान्त हुनेछ । अनि कार्यालय, काम र सडकमा गुडौंला, चिया पसलमा गफ गरौंला ।

यदि आफैंलाई संयमित बनाउन सकिएन भने ग्रीक माईथोलोजीका राजा ‘सिसिफस’को मेहनत जस्तै हुनेछ । सरकारको आग्रह र आम नागरिको घरको बास । कोही संक्रमित घरबाट निस्किने र सार्दै जाने क्रम चल्यो भने सिसिफसले गोलो ढुङ्गो पहाडको टाकुरो निर पुर्‍याउदा पल्टेर फेरि फेदमा पुगे झैं हुनेछ ‘लकडाउन’ । त्यसैले यो महासंकट मोचनका लागि सबैजना घरमा नै बसौं । सुरक्षित बसौं र बस्न दिऔं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment