News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग २६ असोजमा ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजे खेल्दैछ।
- नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्समा पुगेका छन् र टी-२०आईमा १० खेलमा ५-५ जित बराबर छ।
- नेपालका कुशल भुर्तेल र गुल्शन झा तथा यूएईका कप्तान मुहम्मद वासीम र बलिङमा जुनेद सिद्दिकी आजको खेलका प्रमुख खेलाडी हुन्।
२६ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ ।
समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।
नेपाल र यूएईबीचको खेललाई एसोसियटको ‘महाभिडन्त’ पनि भन्ने गरिन्छ । यी दुई टोलीको पछिल्लो लय र पहिलेका नतिजाले दुई टोलीलाई एकअर्काको ‘राइभल’ बनाएका छन् ।
महत्वपूर्ण प्रतियोगिताहरूमा पटकपटक भेट भइरहने २ टोलीबीचको स्तरमा त्यति धेरै फरक छैन । तर निर्णायक खेलहरूमा एकले अर्कोलाई स्तब्ध बनाउँदै आएका छन् ।
आजको खेल पनि महत्वपूर्ण खेलमध्येको एक हुनेछ । यस खेल जित्ने टोलीको सुपर सिक्समा बलियो सुरुवात हुनेछ ।
कप्तान रोहित पौडेलले यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताए । ‘यूएई यो टुर्नामेन्टको बेस्ट टिममध्ये एक हो । हामी विपक्षीको रुपमा हेरेका छौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यानडर्ड अनुसार खेल्यौं भने हामीले जित्न सक्छौं’ रोहितले भने, ‘मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौं ।’
यता यूएईका प्रशिक्षक लालचन्द राजपुतले पनि सुपर सिक्समा नेपाल र ओमानजस्ता टोलीको सामना गर्न तयार रहेको बताएका छन् ।
पछिल्लो लय
दुवै टोली पछिल्लो समय राम्रो लयमा पनि देखिएका छन् । यस छनोटमा आउनुअघि दुवै टोलीले विभिन्न अन्तर्राष्ट्रिय सिरिज तथा महत्वपूर्ण प्रतियोगिता खेलेर आएका छन् ।
नेपालले विश्वकप छनोटअघि वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्दै उक्त शृंखला नै जितेर आएको छ । त्यसअघि पनि विभिन्न देशहरूमा गएर तयारी एवम् अभ्यासहरू पर्याप्त गरेर फर्किएको छ ।
त्यसतैगरी यूएईले पनि बंगलादेशसँगको टी-२० शृंखला जितेको र एसिया कप क्रिकेटमा पनि सहभागिता जनाएकाले यूएईसँग पनि म्याच एक्सपोजर छ ।
पछिल्ला ५ टी-२०आई खेलहरूमा नेपालले १ खेल मात्र हार्दा ४ खेल जितेको छ । यूएईले ३ खेल जित्दा २ खेल हारेको छ ।
हेड टु हेड
नेपाल र यूएईबीच टी-२०आईमा हालसम्म १० खेल भएका छन् । दुवै टोलीले ५-५ खेल जितेका छन् । यसबाट पनि दुई टोलीको प्रतिद्वन्द्विता कस्तो छ भनेर थाहा हुन्छ ।
ओमानमा भएका खेलहरूमा भने यूएई हावी बन्दै आएको छ । ओमानमा भएका ३ वटै खेल यूएईले जितेको छ । यसपटक नेपाललाई त्यो नतिजा पनि सुधार्ने अवसर हुनेछ ।
पछिल्लोपटक यी दुई टोली सन् २०२४ को एसीसी प्रिमियर कपमा ओमानमा भेट भएका थिए जहाँ यूएईले नेपाललाई ६ विकेटले हराएको थियो । उक्त खेलमा हार बेहोरेका कारण नेपालको एसिया कपको ढोका बन्द भएको थियो ।
निर्णायक खेलहरूमा पनि एकले अर्कालाई स्तब्ध बनाउँदै आएका छन् । सन् २०२२ को टी-२० विश्वकप छनोटमा नेपाललाई हराएर विश्वकपमा छनोट भएको यूएई सन् २०२३ को विश्वकप छनोटमा भने नेपालसँगै पराजित भएर छनोट हुन सकेन ।
टी-२०आई वरियतामा यूएई १६औं स्थानमा छ भने नेपाल १८औं स्थानमा छ ।
प्लेयर्स टु वाच
आजको खेलमा नेपालका लागि कुशल भुर्तेल र गुल्शन झाले प्रभाव पार्न सक्छन् । भुर्तेलको ब्याटिङमा पछिल्लो समय राम्रो लय देखिएको छ । यूएईसँगको खेलमा पनि उनको सुरुवाती ब्याटिङ प्रदर्शनमा नेपालको इनिङ निर्भर रहनेछ ।
यस्तै गुल्शन झाले यूएईसँग पहिले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । यस छनोटका सुरुवाती २ खेलमा पनि उनको भूमिका ‘क्रुसियल’ देखिइसकेको छ । उनले पहिलो खेलमा आक्रामक फिनिसिङ गर्दा ६ बलमा २० रन बनाएका थिए ।
यता यूएईका लागि भने कप्तान मुहम्मद वासीम प्रमुख खेलाडी हुनेछन् । उनको ओपनिङ ब्याटिङले यूएईको सम्पूर्ण इनिङमै प्रभाव पार्ने गर्छ । बलिङमा जुनेद सिद्दिकी प्रमुख हतियार हुन् । उनी यूएईका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् ।
टस र सम्भावित ११
यो मैदानमा लो स्कोरिङ र हाइ स्कोरिङ दुवै खेल भइसकेका छन् । जापानले कुवेतविरुद्ध १७८ रनको लक्ष्य पनि पूरा गरेको थियो । त्यो मात्र एक हाइ स्कोरिङ खेल थियो ।
अन्य खेलहरू पनि मध्यम योगफलमा चलेका छन् । नेपालले १४१ रनको योगफल डिफेन्ड गर्दा कुवेतलाई ८३ रनमा अलआउट गरेको छ भने ओमानले कतारविरुद्ध ९३ रनको लक्ष्य पनि सुस्त गतिमा पूरा गरेको थियो ।
यस मैदानमा पहिले ब्याटिङ गरेर राम्रो योगफल खडा गरी त्यसलाई डिफेन्ड गर्ने कप्तानको रोजाइ हुन सक्छ ।
नेपालले प्लेइङ ११ मा परिवर्तन नगरी खेल्ने सम्भावना छ । यद्यपी कुशल मल्लको प्रदर्शन फितलो भएकाले उनलाई प्रतिस्थापन गर्ने सम्भावना पनि छ ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल/लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
यूएईको सम्भावित ११ : हर्षित कौशिक, मुहम्मद वासीम, मोहम्मद अरफान, राहुल चोपरा, बासिल हामीद, अलिशान शराफु, हेदर अली, ध्रुव पराशर, जुनेद सिद्दिकी, सिमरजित सिंह, मोहम्मद रोहिद
नेपालको खेलतालिका
नेपाल भर्सेस् यूएई – २६ असोज (४:१५ बजे)
नेपाल भर्सेस् कतार – २७ असोज (८:४५ बजे)
नेपाल भर्सेस् सामोआ – २९ असोज (८:४५ बजे)
नेपाल भर्सेस् ओमान – ३१ असोज (४:१५ बजे)
प्रतिक्रिया 4