Comments Add Comment

बेलायती जनतालाई प्रधानमन्त्रीको पत्र – स्थिति अझै खराब बन्छ, घरमै बस्नुहोस्

१६ चैत, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नागरिकलाई पत्र लेख्दै मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संकट मुलुकमा अझै चुलिने बताएका छन् ।

पत्रमा उनले अवस्थामा सुधार आउनुभन्दा पहिले यसको असर अझै नराम्रो बन्नसक्ने उल्लेख गरेका हुन् । जोन्सनले यस किसिमको राष्ट्रिय आपतकालको अवस्थामा घरमै बसेर राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई धेरै दबाब नदिन आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका जोन्सनले आवश्यक परेको खण्डमा भाइरस नियन्त्रणको लागि थप कडा कदम चाल्न सकिने बताएका छन् । उनले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अघि सारेको नियम मान्न सबैलाई आग्रह गरेका छन् ।

गत साता बेलायतले भाइरसको प्रकोप नियन्त्रणको लागि भन्दै दुईजनाभन्दा बढी मानिसको भेलामा रोक लगाएको थियो । विशेषज्ञहरुले अबको दुईदेखि तीन सातासम्म निरन्तर नयाँ संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुने चेतावनी दिएका छन् । त्यसपछि मात्र सरकारले लगाएको प्रतिबन्धको असर देखिन थाल्ने उनीहरुको भनाइ छ ।

अहिलेसम्म बेलायतमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या १ हजार १९ पुगिसकेको छ । शनिबार मात्र बेलायतमा २६० जनाले ज्यान गुमाएका थिए । बेलायतमा अहिलेसम्म १७ हजार ८९ जना पुष्टि भएका संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment