Comments Add Comment

लकडाउनमा पनि दिल्लीमा किन जम्मा भयो यति ठूलो भिड ?

१६ चैत, काठमाडौं । भारत पूर्णरुपमा लकडाउनको अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन गर्ने निर्णय गरेका थिए । त्यसको पूर्ण पालना नभएको भन्दै केही प्रदेशले त कर्फ्यू नै लगायो ।

तर, शनिबार भारतको दिल्ली र उत्तरप्रदेशको सीमाको बस स्टेशनमा हजारौं मानिसको भिड देखियो । राति अबेरसम्म पनि बस स्टेशनहरुमा मानिसहरुको भिड देखिएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार अहिले पनि यो भिड कायमै देखिएको छ र मानिसहरु आफ्नो गन्तव्यमा पुग्ने प्रयास गरिरहेका छन् । यसले लकडाउनमाथि नै प्रश्न उठेको छ । किनकी लकडाउनको मुख्य उद्देश्य कोरोना भाइरस नियन्त्रणको लागि मानिसहरुको सामाजिक दुरी कायम गर्नुथियो ।

साथै, यसरी घर फर्किने मानिसले आफूसँगै कोरोना भाइरसको संक्रमण समग्र मुलुकभर फैलाउन सक्ने चिन्ता पनि विशेषज्ञहरुले गर्न थालेका छन् ।

किन जम्मा भयो भिड ?

यो भिड दिल्लीको बस स्टेशनको हो । तर, यसको कारण भने दिल्ली होइन, उत्तर प्रदेश हो ।

किनकी उत्तर प्रदेशले अन्य प्रान्तमा फसेका आफ्नो प्रान्तका मानिसहरुको उद्दार गर्न बस पठाउने निर्णय गरेको थियो । निर्णय अनुसार बस दिल्ली गएपछि उत्तर प्रदेशको सीमा क्षेत्रमा पर्ने दिल्लीको बस स्टेशनमा मानिसहरु भेला भए ।

दिल्लीबाट मानिसहरु पैदलै घर फर्किन थालेको समाचार आएपछि उत्तर प्रदेशले शनिबार दिल्ली, हरियाणा र राजस्थानको सीमामा करिब एक हजार दुई सय बस पठाएको थियो । र, बस चढ्नेहरुको भिड अहिले पनि दिल्ली र उत्तर प्रदेशको सीमाक्षेत्रमा देखिएको बताइएको छ ।

यसलाई लिएर दुई प्रदेशबीच आरोप प्रत्यारोप चलिरहेको छ । दिल्लीले लकडाउन असफल पार्न अरु प्रान्तबाट आएका मानिसलाई घर पठाइरहेको अन्य प्रान्तका मानिसले आरोप लगाएका छन् । दिल्लीले अरु प्रान्तबाट आएका मानिसलाई पनि लकडाउन पालना गर्न आग्रह गरिरहेको भएपनि अन्य प्रदेशले आफ्ना नागरिकहरु लिन बस नै पठाएपछि भिड रोक्न नसकिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment