Comments Add Comment

कोभिड-१९ को संक्रमण रोक्न मध्य तराईका सरोकारवाला एकजुट

१६ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन भारतलगायत अन्य मुलुकबाट नेपाल आएकाको पहिचान तथा सुरक्षित व्यवस्थापनका विषयमा नेपाली सेनाले तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ ।

बाराको परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले बारा, पर्सा र रौतहट जिल्लाका सुरक्षा प्रमुख, सेनाका अधिकारी एवं स्थानीय निकायका प्रमुख तथा सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । बैठकमा कोभिड-१९ को संक्रमणका वर्तमान अवस्था, आउन सक्ने चुनौती, समाधानका उपाय र सरोकारवालाका जिम्मेवारीको बारेमा छलफल भएको बैठकमा सहभागी अधिकारीहरुले बताएका छन् ।

बैठकमा कोभिड-१९ को संक्रमण फेज वान बाट टूतर्फ जाँदै गर्दाको रणनीति, कोरोना संक्रमण फैलन नदिन कसले के गर्ने ? जिल्लामा विद्यमान सेवा सुविधा र जिम्मेवारीका बारेमा छलफल भएको थियो । ‘कुनै जिल्लामा पूर्वाधार, जनशक्तिको अवस्था राम्रो छ । कुनै स्थानीय निकायले राम्रो काम गरिरहेका छन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘ अब कसरी अगाडी बढ्ने भन्ने बारेमा बैठकमा छलफल भएको छ ।’

बैठकमा कोभिड-१९ संक्रमणको वर्तमान अवस्था तथा सम्भावित चुनौतिको बारेमा नेपाली सेनाका बाहिनीपति अनुप जंग थापाले जानकारी गराएका थिए । ‘बाहिरबाट आएकाहरुबाटै संक्रमण फैलिने सम्भावना बढी देखिएको छ । संक्रमणको चेन ब्रेक गर्न त्यस्ता व्यक्तिको पहिचान गरी निगरानीमा राख्नुपर्छ,’ बाहिनीपति थापाले भने, ‘ यसका लागि सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक छ ।’

संक्रमणको चेन ब्रेक गर्न गर्न भारत तथा तेस्रो मुलुकबाट आएका शंकास्पद व्यक्तिको पहिचान गरी क्वारेनटाइनमा व्यवस्थापन गर्नुका सथै रोगको लक्षण देखिएमा उपचार थालिहाल्नुपर्नेमा अधिकारीहरुले जोड दिएका छन् ।

बैठकमा सिमावर्ती तीन जिल्लामा विदेशबाट आएकाको सूचि संकलन गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी गर्दै सुरक्षित स्थानमा क्वारेन्टाइन गर्ने, आवश्यकता अनुसार सेनालाई ब्याक अप फोर्सको रुपमा परिचालन गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं स्थानिय जनप्रतिधिहरु सहितको टोली स्थानीय निकायमा परिचालन गर्ने निर्णय भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । ‘ बाहिरबाट आएका सूचि तयार गर्न स्थानीय तहका कर्मचारी तथा जनप्रतिनीधिहरु परिचालन गर्न सकिन्छ,’ उनले भने, ‘सँगसँगै लकडाउनको समयमा घरभित्र बसेका सर्वसाधारणलाई उत्पन्न भएको समस्या समाधानका लागि सुरक्षा निकायको सहयोग आवश्यक छ ।’

कोभिड-१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको जीवन विमा र उपचारका लागि आवश्यक उपकरणको प्रबन्ध मिलाउन स्थानीय सरकार तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment