News Summary
Generated by OK AI. Editorially reviewed.- म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका निकायहरूको सहयोगमा १४ जना नेपाली प्रलोभनमा म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको छ।
- म्यानमारको म्यावडीमा रहेका थप ११ जना नेपालीको उद्धारका लागि दूतावासले यथाशीघ्र पहल गरिरहेको छ।
- दूतावासले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर मात्र जान र प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेको छ।
१९ कात्तिक, काठमाडौं । विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ ।
उनीहरूलाई म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उद्धार गरिएको हो ।
उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै आज नेपाल पठाइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको यथाशीघ्र उद्धारका लागि पहल भइरहेको छ ।
म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात् ३९ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए ।
ती ३८ जना नेपालीलाई पनि नेपाल फर्काउन थाइल्याण्डस्थित सम्बन्धित निकायसँग समन्वय भइरहेको राजदूतावासले जानकारी दिएको छ ।
साथै दूतावासले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा तथा कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ ।
‘नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया 4