Comments Add Comment

अब दैनिक उपभोग्य वस्तु प्याकेजमा बेच्नुपर्ने, आफूखुशी राहत बाँड्न नपाइने

१६ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिइरहेका बेला गृह मन्त्रालयले आफूखुशी सहायता बाँड्न रोक लगाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा आइतबार बसेको बैठकले सहायताको नाममा कसैले चन्दा उठाउन र आफूखुशी वितरण गर्न नपाउने निर्णय गरेको हो ।

बैठकमा गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु, महानगरपालिका र नगरपालिकाका प्रमुखलगायतको उपस्थिति रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।

उनकाअनुसार बैठकले कुनै निकाय वा संघसंस्था वा व्यक्तिले सहायता दिन चाहे सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने पनि निर्णय गरेको छ ।

स्थानीयले तोकेको मापदण्डअनुसार सहयोग सामग्री भए मात्र स्थानीय तहले स्वीकार गर्ने भनिएको छ । साथै, ती सामग्री वडा स्तरीय समितिमार्फत मात्रै वितरण हुने जनाइएको छ ।

वितरणसम्बन्धी विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने पनि भनिएको छ ।

खाद्य सामग्री प्याकेजमा वितरण गर्नुपर्ने

बैठकले न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी ‘कम्बो’ प्याकेज बनाएर विक्री गर्न स्टोर र विक्रेतालाई निर्देशन दिने पनि निर्णय गरेको छ । लकडाउन गरे पनि खाद्य सामग्री किन्ने क्रममा भीड बढ्न थालेपछि यो निर्णय गरिएको हो ।

आपूर्ति व्यवस्थापनको नेतृत्व सम्बन्धित स्थानीय तहले लिने पनि भनिएको छ । बिक्री गर्दा न्यूनतम एक मिटरको दूरी कायम गर्ने गरी स्थानीय तहले मापदण्ड बनाउनुपर्ने पनि भनिएको छ ।

वडाभित्र रहेका रोजगारी अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत संकलन गर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment