Comments Add Comment

कोरोनामा पीपीई नै किन, कस्तो चाहिन्छ ?

गुणस्तरीय पीपीई नपाएपछि पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्लास्टिकबाट कामचलाउ पीपीई बनाएका छन् । तस्वीर : युनिस गुरुङ/अनलाइनखबर

चीनको वुहान शहरबाट डिसेम्बर २०१९ मा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारीको रुपमा फैलिएको छ र हजारौंको ज्यान लिइसकेको छ । हालसम्म यसको उपचार पत्ता लागेको छैन र नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण देखिएको छ ।

नेपालमा यसले अहिलेसम्म जटिल प्रभाव पार्न नसके पनि भोलि इटालीको जस्तै अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यो रोगलाई फैलन नदिन हरेक नागरिकको उत्तिकै उत्तरदायित्व हुन्छ ।

अहिले कोभिड– १९को उच्च जोखिममा कोही छन् भने ती हुन् स्वास्थ्यकर्मी । किनभने बिरामीको उपचार गर्दा उनीहरु नै अघि सर्नुपर्छ । उनीहरुलाई अत्यावश्यक सुरक्षा पोशाक ‘पीपीई’ पर्याप्त छैन । त्यसैले स्वास्थ्यकर्मीहरु झन् बढी जोखिममा छन् ।

डा. कमल ढकाल

अरु सबै कर्मचारी घरबाट काम गरिरहँदा स्वास्थ्यकर्मी २४ घन्टा बिरामीको रेखदेखमा खटिनुको पीडा त छँदैछ, गुणस्तरीय पीपीईको अभावमा कोभिड–१९को रोगीलाई उपचार गर्दागर्दै स्वास्थ्यकर्मीलाई नै रोग सर्ने जोखिम त्यत्तिकै छ ।

फेरि, कोभिड– १९ को लक्षण देखिन कम्तिमा दुई हप्ता लाग्न सक्छ । त्यतिबेलासम्म सधैं भिडभाड रहने हाम्रो अस्पतालमा एक स्वास्थ्यकर्मीलाई सरेको भाइरस छिट्टै अरु हजारौंलाई सर्न पनि सक्छ ।

अहिले आम मानिसमा कोरोनाबारे धेरै अफवाह र तथ्यहीन भ्रामक सूचनाहरुको खोलो बगेको छ, खासगरी सामाजिक सन्जाल मार्फत । कतिपय सूचनाहरु कोभिड–१९ फैलन नादिनका लागि सहयोगी पनि छन् । तर, अधिकांश भ्रम र त्रास फैलाउने खालका छन् । अहिलेको बेला सरकारको आलोचना गर्ने वा यो गरेको भए हुन्थ्यो वा त्यो गरेको भए हुन्थ्यो भनेर गाली गर्ने समय होइन । यो बेला सकेसम्म आफू र आफू नजिकका मान्छेहरुलाई सामाजिक दूरी कायम राख्न वा घरबाट बाहिर ननिस्कन र साबुन पानीले राम्ररी हात धुन सिकाऊँ । कतिपय अवस्थामा धेरै मान्छेहरुले सुन्दा सामान्य लाग्ने हात धुने तरिका जानेका हुँदैनन् ।

अरु सबै कुरा नेपालले अहिलेसम्म सबै सावधानीहरु समयमा नै अपनाएको छ । तर, कोभिड–१९ को बिरामी वा सम्भावित बिरामीलाई जाँच गर्ने नर्स वा तल्लो तहका स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीईको बारेमा प्राप्त जानकारी नगराएको हो कि जस्तो लाग्छ ।

कोरोना नयाँ र अरु रोगभन्दा भिन्न भएकाले सामान्य अवस्थामा लगाउने मास्क र गाउनले काम गर्दैन । यसका लागि डब्ल्यूएचओले छुट्टै मापदण्ड भएको पीपीई सिफारिस गरेको छ ।

यो पीपीई लगाउनलाई पनि स्ट्यान्डर्ड प्रोटोकल हुन्छ । देख्दा सामान्य लागे पनि पीपीई उचित तरिकाले लगाउने र उचित तरिकाले खोल्ने नगरेमा प्रभावकारी नहुन सक्छ ।

म आफैं अमेरिकाको एक वायोमेडिकल ल्याबमा बैज्ञानिक भएको र कामको प्रकृति हेरेर विभिन्न किसिमका पीपीई हरेक दिनजसो लगाउने गरेको छु ।

मसँग वायोसेफ्टी प्रयोगशालामा काम गरेको १० औंवर्षको अनुभव भए पनि काम गर्ने कम्पनीले हरेक वर्ष पीपीईको उचित प्रयोगबारे एक घन्टा तालिम लिन अनिवार्य गर्छ ।

भन्न खोजिएको के हो भने आहिले कोभिड–१९को महामारीमा एक पीपीईको अभाव छ भने यसको उचित प्रयोगबारे पनि सामान्य तालिमको खाँचो पर्छ ।

एक स्वास्थ्यकर्मी पीपीई लगाउँदै । तस्वीर : ग्लोबल न्यूज

अब डब्ल्यूएचओले भनेको स्वास्थ्यकर्मीले लगाउने पीपीई के हो भन्नेबारे चर्चा गरौं ।

पीपीईको अर्थ हुन्छ– व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) । डब्ल्यूयचओको वेबसाइटमा राखिएको गुणस्तरीय पीपीई तलको तालिकामा देखाइएको छ ।

तलको तालिकामा स्वास्थ्यकर्मीको बारेमा मात्र देखाइएको छ । अरु व्यक्तिहरु र ऊ सम्बन्धी बढी जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

अमेरिकाको सीडीसी (रोग नियन्त्रण र रोकथाम केन्द्र) ले पनि उस्तै तर अलि फरकखालको गाइडलाइन दिएको छ । जसका लागि यहाँ हेर्न सक्नुहुन्छ ।

माथि देखाइएको तालिकामा कोभिड–१९को बिरामीसित सीधै सम्पर्कमा रहने डाक्टर वा अरु स्वास्थ्यकर्मीले एन ९५ (अमेरिकी स्ट्यान्डर्ड) वा एफएफपी–२ (यूरोपियन स्ट्यान्डर्ड) वा सोभन्दा माथिको मास्क लगाउनको लागि सुझाइएको छ । तर अरु कर्मचारी वा कोभिड–१९ को सीधा सम्पर्कमा नरहने स्वास्थ्यकर्मीले मेडिकल मास्क लगाउँदा हुन्छ ।

कोभिड–१९ भाइरस हाम्रो शरीरमा म्युकस मेम्ब्रेनबाट भित्र छिर्ने हुँदा नाक, मुखका साथै आँखा पनि जोगाउनुपर्छ । यसका लागि स्वास्थ्यकर्मीलाई कम्तिमा तल उल्लेख गरिएका पीपीई आवश्यक पर्दछ ।

एन–९५ वा एफएफपी–२ स्ट्यान्डर्ड मास्क प्रायजसो हावाको माध्यमबाट हुने संक्रमणको जोखिमलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ । यद्यपि तिनीहरूको प्रभावकारिता उचित फिट र प्रयोगमा अत्यधिक निर्भर गर्छ ।

एन–९५ स्ट्यान्डर्ड भन्नाले ०.३ माइक्रोनसम्मका कणहरुलाई ९५ प्रतिशत रोक्नसक्ने मास्क हुन्, जुन सर्जिकल या मेडिकल मास्कबाट सम्भव हुँदैन । एन–९५ ले अत्यन्तै साना कण जस्तै कोभिड–१९को जीवाणुलाई पनि फिल्टर गर्न सक्छ । तर, यो मास्क अहिले बजारमा अभाव छ । विकसित राष्ट्रमा समेत यसको अभाव छ ।

चाइना सरकारलाई अनुरोध गरेको खण्डमा चाइना सरकारले पठाइदिन सक्छ । किनभने, मेडिकल सप्लाइमा चीन सबैभन्दा ठूलो निर्यातकर्ता हो ।

मास्कका साथसाथै नाइट्रेलको पञ्जा, डिस्पोजÞेबल पोलीकोटेड गाउन वा पानी नछिर्ने (वाटर रेजिस्टन्ट) गाउन, जुत्ताको कभर र अझै महत्वपूर्ण आँखाको सुरक्षाका लागि आई प्रोटेक्टिभ गगल्स लगाउनुपर्छ । किनकि आँखाबाट पनि कोभिड–१९  भाइरस हाम्रो शरीरभित्र छिर्न सक्छ ।

सतर्कता अपनाऔं

कोरोनाको प्रकोप फैलन नदिने सबैभन्दा उत्तम उपाय भनेको एकान्त वा हिँडडुल गर्दा वा कसैसँग भेट हुनु पर्दा कम्तिमा ६ फुट टाढा रहनुपर्छ, जसलाई आजभोलि ‘सोसियल डिस्ट्यान्सिङ’ पनि भनिन्छ ।

सोसियल डिस्ट्यान्सिङ भनेको समाजबाटै टाढा रहनु होइन । यो रोग श्वासप्रश्वासबाट सर्ने एक सरुवा रोग भएकाले एक रोगी व्यक्तिबाट अर्को व्यक्तिमा खोकिका बेला निस्कने तरल थोपाका साथ सोझै वा कुनै सतहमा छन् भने पनि अर्को ब्यक्तिले त्यो ठाउँमा छुँदा सर्ने गर्छ ।

यो रोग पहिलोपटक मानिसमा देखिएकाले धेरैकुरा हामीलाई अझै थाहा छैन । त्यसैले हामीले अरु रोगको भन्दा धेरै सतर्कता अपनाउनु पर्दछ ।

भर्खरै न्यू इंग्लैंड जर्नल अफ मेडिसनमा प्रकाशित अनुसन्धानबाट के देखिएको छ भने कोभिड–१९ रोगको भाइरस धातुमा २४ घन्टा वा अरु प्लास्टिक वा काठको सतह मा ७२ घण्टासम्म जीवित रहन्छ ।

अहिलेसम्म उपलब्ध प्रमाणको आधारमा, कोभिड–१९को भाइरस रोगी ब्यक्तिको नजिकैको सम्पर्क मार्फत व्यक्ति–व्यक्ति बीच प्रसारित भएको पाइएको छ, हावाबाट हावामा सरेर होइन । उदाहरणका लागि कोभिड–१९ को बिरामी कुनै एउटा गाउँमा भए उसले फेरेको सास हावामा मिसिएर गाउँभरि नै रोग फैलिँदैन, जबसम्म ऊ वा उसको नजिकमा भएको मान्छे त्यो घरबाट बाहिर निस्कँदैन ।

(डा. ढकाल, आलेरगन फार्मस्युटिकल क्यालिफोर्निया, अमेरिकामा कार्यरत बायोमेडिकल वैज्ञानिक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment